सुचना, समाचार र मनोरन्जन

उर्जा मन्त्रालय गण्डकीको सय दिन : खानेपानी र बिजुलीमा उल्लेखिय प्रगति भएको दाबी

‘एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिएका छौं । सय दिनको अवधिमा १७ हजार ३ सय घरधुरीमा निजी धारा जडान भएका छन् । ९० हजार २ सय जनसंख्या लाभान्वित भएका छन् । खानेपानी आयोजनाको तथ्याङ्क संकलन गरी व्यवस्थित अभिलेखिकरण गर्न गण्डकी प्रदेश खानेपानी सरसफाई तथा स्वच्छता कार्ययोजनाको सुरुवात भएको छ ।’

सन्तोष बस्याल
पोखरा ।

गण्डकी प्रदेशको उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको एक सय दिन पुरा भएको छ । सोहि अवसरमा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री सरस्वती अर्याल तिवारीले आफु आइसकेपछि खानेपानी र उर्जामा उल्लेखिय प्रगति भएको बताइन् । उनका अनुसार गण्डकी प्रदेशमा हालसम्म १ लाख ३० हजार धरधुरीमा खानेपानी पुगेको छ । २८ सय ८४ वटा घरमा बिजुली पु¥र्याउन बाँकी रहेको मन्त्री अर्यालले जानकारी गराइन् । जसमा बागलुङका ३ सय ९१ घरधुरीमा बिजुली जडानको काम अगाडि बढीसकेको छ ।

बाँकी रहेका सबै घरधुरीमा बिजुलीबत्ती जडान गरी यसै आर्थिक वर्षभित्र नै उज्यालो प्रदेश घोषणा गर्ने तयारीमा मन्त्रालय रहेको उनले बताइन् । एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिई स्वच्छ पिउने पानीको व्यवस्थापनमा प्रदेश सरकार लागिरहेको भनाई उनको छ ।

‘एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिएका छौं । सय दिनको अवधिमा १७ हजार ३ सय घरधुरीमा निजी धारा जडान भएका छन् । ९० हजार २ सय जनसंख्या लाभान्वित भएका छन् । खानेपानी आयोजनाको तथ्याङ्क संकलन गरी व्यवस्थित अभिलेखिकरण गर्न गण्डकी प्रदेश खानेपानी सरसफाई तथा स्वच्छता कार्ययोजनाको सुरुवात भएको छ ।’, उनले भनिन् ।

घण्टौ सम्म डोकोमा गाग्री बोक्नुपर्ने बाध्यतालाई हटाउने अभियानमा गण्डकीको उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय लागिरहेको उनले उल्लेख गरिन् । धार्मिक स्थल, कोट, पदमार्ग, घरवास जस्ता महत्वपूर्ण स्थलमा खानेपानी सेवा विस्तार गरिएको विषयलाई पनि मन्त्रालयले सय दिनको उपलब्धिमा समावेश गरेको छ । खानेपानी मुहान संरक्षणका लागि बजेट विनियोजन गरी कार्य सुरु गरिएको उनले बताइन् ।

सिंचाई तर्फ लिफ्टिङ सिँचाई योजनाको विद्युत महशुलमा अनुदान दिइएको भनाई उनको छ । बाह्रै महिना सिंचाई पुर्याउने नीति लिइएको उनले बताइन् । सय दिनको अवधिमा ५ सय १५ हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुर्याइएको जानकारी उनले गराइन् ।

जलाशययुक्त आयोजना शुरु गरि जलविहार संचालन गर्ने नीति मन्त्रालयले लिइएको छ । टार तथा फाँटहरुमा सिंचाई सुविधा उपलब्ध गराउने गरि काम भएका छन् । गण्डकी सिंचाई गुरुयोजना तयार गरि कृषकलाई सहज वातावरण मिलाउन तर्फ मन्त्रालय केन्द्रित छ । यसका लागि प्रदेशको सिंचाई नियमावली २०८० मस्यौदा भई त्यस उपर विभिन्न चरणमा छलफल भइसकेको र अन्तिम रुप लिइरहेको भनाई मन्त्रीको छ ।

नदी नियन्त्रण, पहिरो नियन्त्रण तथा आपतकालिन बाढी नियन्त्रणमा १३.८ किमी तटबन्धन निर्माण गरिएको विषय पनि मन्त्रालयको सय दिनको प्रगति विवरणमा उल्लेख छ । मुस्ताङ जिल्लाको कालीगण्डकी नदी नियन्त्रणमा २८ करोड रुपैयाँको योजना स्वीकृत भएको मन्त्री अर्यालले जानकारी गराइन् । स्याङजाको आँधीखोला नियन्त्रणका लागि २० करोड रुपैयाँको योजना स्वीकृत भएको र आपतकालिन विपद रोकथामको लागि तारजाली खरिद गरि तयारी गरिएको उनले बताइन् ।

उर्जातर्फ प्रदेशले विद्युत्तीय चुलो प्रयोगमा प्रोत्साहन गरेको छ । गण्डकी प्रदेश उर्जा सम्बन्धी ऐन विधेयक मस्यौदाको तयारीमा रहेको उनले जनाइन् । अघिल्लो आर्थिक वर्षमा ८५.४४ प्रतिशत खर्च गरि गण्डकी प्रदेशमा सबैभन्दा धेरै वित्तिय प्रगति हासिल गर्ने मन्त्रालय उर्जा भएको दाबी उनको छ । १० लाख भन्दा कमका योजनाका लागि बजेट विनियोजन नगरिएको जानकारी उनले दिएकी छिन् । योजना बैंकको निर्माण गरी आएका योजनालाई काटछाट गरी आवश्यकताका आधारमा बजेट विनियोजन गरिएको भनाई उनको छ ।

Leave A Reply

Your email address will not be published.