सुचना, समाचार र मनोरन्जन

कलाकार संघको अध्यक्षमा उत्तम केसीको घोषणा

काठमाडौं ।
चलचित्र कलाकारबीच चुनावी सरगर्मी सुरु भएको छ। यहीबीचमा संघको अध्यक्षका लागि उत्तम केसीले उम्देवारी घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत उम्देवारी घोषणा गरेका हुन्। उनलाई संघका पूर्वअध्यक्ष रविन्द्र खड्का लगायतका वरिष्ठ कलाकारले समर्थन गरेका छन् ।
यही चैत २८ मा चलचित्र कलाकार संघको २१ औं साधारण सभा आयोजना हुँदैछ। सभाले १७ सदस्यीय नयाँ पदाधिकारी निर्वाचित गर्नेछ ।
संस्थाको मतदाता बन्न १७ चैतसम्म सदस्यता नवीकरण गरिसक्नुपर्नेछ। त्यसअघि निर्वाचन आयोग गठनको तयारी छ । अहिले नवीकरण नगरेकासहित २५०० जना सदस्य संस्थामा रहेको जनाइएको छ।  २०५५ सालमा स्थापना भएको कलाकार संघमा तीन वर्षे कार्यकाल हुने गरेको छ।
रंगमञ्चदेखि चलचित्रसम्मको यात्रा तय गरेका कलाकार केसी नेपालमा टेलिभिजनको स्थापना अघिदेखि नै रंगमञ्चमा नाटक गर्ने कलाकार हुन। बाल्यकालदेखि कला क्षेत्रमा रमाएका केसीले विद्यालय पढ्दादेखि नै अभिनय यात्रा सुरु गरेका हुन्। २०० भन्दा बढी टेलिफिल्ममा अभिनय गरेका केसीले ‘आदर्श नारी’बाट चलचित्रमा डेब्यु गरेका हुन् । उनले पुकार, मोहनी, ज्वाला, जन्मभूमि, बलराम, चमत्कार, चण्डाल, चक्रव्युह, नाइनभन्नु ल सिरिज, होस्टेल, बुकुरो, झिंगे दाउ–२ सहित २५० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन्।

अहिले पनि अभिनयलाई निरन्तरता दइिरहेका केसी विशेषगरी‘चुँईचुँई’ पारेर भन्ने थेगोबाट चर्चामा आएका हुन्। जीवन चक्र नामक टेलिचलचित्रमा उत्तम काकाको भूमिकाबाट उनको ‘चुँईचुँई’ यात्रा सुरु भएको हो। चलचित्र विकास बोर्डको पूर्व सदस्य रहेका केसी संघको पूर्व कार्यकारी सदस्यहुँदै सहकोषाध्यक्ष र सचिवमा निर्वाचित भएका थिए। उनी नेपाल सरकारको प्रशासनिक क्षेत्रमा उनको अनुभव रहेको छ।

अर्का कलाकार सबिन श्रेष्ठले पनि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।

Leave A Reply

Your email address will not be published.