पोखरा,
पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन नजिकिँदै जाँदा नेतृत्व चयनको प्रतिस्पर्धा थप रोचक बनेको छ। वर्तमान वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेसँगै आगामी निर्वाचनमा अध्यक्षका आकांक्षीको संख्या तीन पुगेको छ।
शनिबार हरिशयनी एकादशीको अवसर पारेर फेसबुकमार्फत उम्मेदवारी घोषणा गरेका बुद्धाचार्यले आफूले संघमा विभिन्न तहमा काम गर्दा हासिल गरेको अनुभवलाई अब अध्यक्षका रूपमा संस्थाको नेतृत्वमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले व्यवसायीको साझा हित, संस्थागत सुदृढीकरण र निजी क्षेत्रको प्रभावकारी प्रतिनिधित्वलाई आफ्नो प्राथमिकता बनाउने बताएका छन्।
बुद्धाचार्यले संघमा कार्यकारी सदस्य, वाणिज्य उपाध्यक्ष हुँदै हाल वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएको अनुभवलाई आफ्नो मुख्य बलका रूपमा प्रस्तुत गरेका छन्। व्यवसायीका समस्या समाधान, अधिकार संरक्षण, व्यावसायिक वातावरण सुधार र संघको भूमिकालाई थप प्रभावकारी बनाउने एजेन्डासहित आफू चुनावी मैदानमा उत्रिएको उनको भनाइ छ।
उनले उद्योगी तथा व्यवसायी सदस्यबाट विगतमा प्राप्त विश्वास र सहयोगप्रति आभार व्यक्त गर्दै आगामी निर्वाचनमा पनि साथ र समर्थनका लागि आग्रह गरेका छन्।
यसअघि अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष बलराम आचार्य र महासचिव शोभा गौतम ले उम्मेदवारी घोषणा गरिसकेका छन्। तीन अनुभवी नेतृत्व मैदानमा उत्रिएसँगै आगामी निर्वाचनमा नीति, योजना र नेतृत्व क्षमतामाथि केन्द्रित प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।
पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन आगामी भदौ २० र २१ गते, २०८३ मा हुँदैछ। सोही महाधिवेशनबाट संघको नयाँ नेतृत्व चयन हुनेछ।