काठमाडौं :
गत माघ १ गतेदेखि नेपाली हलमा प्रदर्शनरत सिनेमा ‘भाइरल गोर्खे’ अब भारतका विभिन्न सहरमा रिलिज हुने भएको छ। यही शुक्रबारबाट दोस्रो सातामा प्रवेश गर्न लागेको सिनेमा भारतमा चाँडै प्रदर्शनमा ल्याउने तयारी भइरहेको निर्माण टिमले जनाएको छ।
निर्माता अमित श्रेष्ठका अनुसार भारतमा नेपाली सिनेमा वितरण गर्दै आएको एक कम्पनीसँग चलचित्र रिलिजका लागि मौखिक सहमति भइसकेको छ। वितरणको जिम्मा लिएका व्यक्ति केही दिनमै नेपाल आएर लिखित सम्झौता गर्ने तयारीमा रहेको उनले बताए।
भारतको राजधानी दिल्लीसहित दार्जिलिङ, सिलिगुडी, गान्तोक, कर्सियाङ, कालिम्पोङ तथा आसामलगायत नेपाली भाषीको उल्लेख्य बसोबास रहेका सहरमा सिनेमा प्रदर्शन हुने तयारी गरिएको छ। नेपालमा चलचित्रले दर्शकको राम्रो प्रतिक्रिया पाएपछि भारतीय वितरकहरूले सम्पर्क गरेको निर्माण टिमको भनाइ छ।
निर्माण टिमका अनुसार भारत रिलिजका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ। यता नेपालमा पनि चलचित्रले प्रदर्शन क्षेत्र विस्तार गर्दै दर्शकको चाप बढाइरहेको छ, जसको संकेत अनलाइन टिकट बुकिङ साइटहरूमा देखिन थालेको छ।
निगम श्रेष्ठको निर्देशन रहेको ‘भाइरल गोर्खे’मा सौगात मल्ल र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन्। सामाजिक सञ्जालमा भाइरल बन्ने चाहनामा पात्रले गर्ने संघर्षको कथामा आधारित सिनेमामा बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला, रवि भुजेल र मिस पवीको पनि अभिनय रहेको छ।
एके ब्रदर्स कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा निर्माण भएको सिनेमामा अमर महर्जनको छायांकन रहेको छ। चलचित्र लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा छायांकन गरिएको हो।