सुचना, समाचार र मनोरन्जन

गण्डकीलाई वेलनेस टुरिजमको हबका रूपमा विकास गर्न मुख्यमन्त्री पाण्डेको प्रस्ताव

पोखरा/

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशलाई नै वेलनेस टुरिजमको हबका रूपमा विकास गर्न प्रस्ताव गरेका छन् । पोखरामा भएको स्वजागरण अभियानलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले स्वस्थ जीवनशैलीका लागि प्राथमिकता दिएको बताए ।

‘सिंगो गण्डकी प्रदेश पर्यावरणीय हिसाबले ‘वेलनेस’ टुरिजमको सम्भावना बोकेको ठाउँ हो,’ उनले भने, ‘प्रदेश भित्र ‘वेलनेस’ टुरिजमको विकासका लागि प्रदेश सरकारले आफ्ना नीति कार्यक्रम र बजेटमा अझै प्राथमिकता दिनेछ ।’

घरघरमा स्वजागरण गराउने लक्ष्य सहित स्थानीय सरकारसँगको सहकार्यमा विभिन्न कार्यक्रम कार्यान्वयनको चरणमा सरकार रहेको उनको भनाई छ । गण्डकी प्रदेश धार्मिक र ऐतिहासिक ठाउँहरू धेरै भएकोले पनि ध्यान योगको केन्द्र बनाउन सम्भव हुने उनको तर्क छ।

नागरिकको मानसिक स्वास्थ्य जोगाउनु पनि सरकारको दायित्व हुने भएकोले वेलनेसको क्षेत्रमा सरकारले लगानी गर्नुपर्ने उनले बताए । ‘हरेक नागरिकको शारीरिक, मानसिक र आत्मिक सन्तुलन कायम राख्न सहयोग गर्नु सरकारको पनि दायित्व हो,’ उनले अघि भने, ‘सबैको सहकार्यले स्वजागरण अभियान हरेक नागरिकलाई ऊर्जा जगाउने एउटा माध्यम बन्नेछ ।’ आइतबारदेखि सुरु भएको स्वजागरण अन्तर्गत एक साता विराट् चक्र विज्ञान को अभ्यास गराइने आयोजक जीवन विज्ञान प्रतिष्ठानले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.