काठमाडौँ,
सरकारले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा विभिन्न शुल्क छुट दिने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २०८५ भदौ मसान्तसम्मका लागि यस्तो सहुलियत दिने निर्णय गरेको हो।
शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले दिएको जानकारी अनुसार यी दुई विमानस्थलमा पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा (१०० प्रतिशत) छुट हुनेछ। यस्तै, ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय सरकारले गरेको छ।
यी विमानस्थललाई चलायमान बनाउन र अन्तर्राष्ट्रिय उडानहरू आकर्षित गर्न सरकारले यस्तो सहुलियत दिने कदम चालेको बताइएको छ।