काठमाडौँ :
नेपाली फिल्म उद्योगमा बढ्दो निर्माण लागतप्रति अभिनेता तथा निर्माता युवराज लामाले चिन्ता व्यक्त गरेका छन्। हाल प्रदर्शनरत फिल्म ‘माइतीघर’का कलाकार समेत रहेका लामाले आइतबार सामाजिक सञ्जालमार्फत फिल्म निर्माणमा अनुशासन आवश्यक रहेको सुझाव दिएका हुन्।
उनका अनुसार, नेपाली फिल्म उद्योगलाई दीर्घकालीन रूपमा टिकाइराख्न बजेट नियन्त्रण अपरिहार्य छ। उनले लेखेका छन्, “नेपाली फिल्म उद्योगमा लामो समय टिक्न चाहने निर्माताहरूले आफ्नो निर्माण लागतमा अनुशासन ल्याउन आवश्यक छ। औसत रूपमा फिल्म निर्माण र प्रदर्शन खर्च दुई करोडदेखि अधिकतम साढे दुई करोडभित्र सीमित राख्न सकेमा लगानी सुरक्षित रहन सक्छ।”
यस वर्षको दशैंमा प्रदर्शनमा आएका ‘माइतीघर’, ‘बलिदान’ र ‘हरिबहादुरको जुत्ता’जस्ता चर्चित फिल्महरूले समेत लगानी उठाउन नसकेको पृष्ठभूमिमा लामाले यस्तो अभिव्यक्ति दिएका हुन्।
उनले थप लेखेका छन्, “२०८२ सालको दशैंमा प्रदर्शन भएका फिल्महरूको बक्स अफिस रिपोर्टले स्पष्ट देखाउँछ कि अहिले सम्म कुनै फिल्मले पनि पाँच करोडको ग्रस रेखा पार गर्न सकेका छैनन्। यद्यपि, सबै निर्माताहरूको दाबी एउटै सुन्निन्छ — फिल्म हिट भयो।”
लामाको भनाइ अनुसार, प्रचारप्रसार र भव्यता भन्दा पनि कथा, प्रस्तुति र लागत व्यवस्थापनमा ध्यान दिए मात्र नेपाली फिल्म उद्योगले स्थायित्व पाउनेछ।