काठमाडौं :
पर्सि अर्थात शुक्रबारबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेका दुई नेपाली फिल्म ‘जारी २’ र ‘मन बिनाको धन’को चर्चा चुलिदै गएका छन्। ‘जारी २’ जारीको सिक्वेल हो भने ‘मन बिनाको धन’बाल गायक अशोक दर्जीको कथा हो। यो दुई फिल्मलाई लिएर यतिबेला सामाजिक सञ्जालमा पनि चर्चाको विषय बनेको छ।
हलवालाहरुले पनि शो तालिका सार्वजनिक गरेका छन्। साथै अग्रिम टिकट बिक्री समेत सुरु भइसकेको छ। संगीतकार तथा गायक टंक बुढाथोकीको डेब्यु निर्देशनमा निर्माण भएको फिल्म ‘मन बिनाको धन’लाई हलवालाले न्युन शो दिएको छ भने उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी २’ अग्रस्थानमा छ। बुधबार बिहान हेर्ने हो भने ‘जारी २’लाई देशभर फिल्मलाई कुल १४३ शो उपलब्ध गराएको थियो।
यता ‘मन बिनाको धन’ भने न्यून शो अर्थात देशव्यापी जम्मा २३ शो उपलब्ध छ। यो जारी २ भन्दा निकै कम हो। शो उपलब्ध हुने कुरामा अझै बढ्न सक्ने देखिन्छ किनभने केही हलले टिकट बिक्री सुरु गर्न बाँकी नै रहेका छन्। दुवै फिल्मको केही मात्रामा शो बढ्ने देखिन्छ। बुकिङ खुलेसँगै पूर्वका डिमाक्स,इलाइट,धरानको हलमा भने ‘जारी २’को हाउस फुल भइसकेका छन्। यसले फिल्मप्रति दर्शकको उत्साह दर्शाउँछ। यता ‘मन बिनाको धन’को पनि उल्लेखनिय मात्रामा टिकट बुक गर्ने क्रम जारी देखिन्छ।
फिल्म ‘जारी २’लाई कवि समेत रहेका उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा तयार भएको हो भने यसमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बू, सिर्जना निङ्लेखु लगायतले अभिनय गरेका छन्।
यता ‘मन बिनाको धन’लाई टंक बुढाथोकीले निर्देशन गरेका हुन् भने यसमा अशोक दर्जी,नीता ढुङ्गाना,सरोज खनाल,सन्तोष पन्त, रमा थपलिया, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्दि तामाङ, रवीन्द्र झा लगायतको अभिनय रहेको छ। यता गत शुक्रबारबाट हलमा लागेको फिल्म ‘परान’मा दर्शक बढेका बढै छन्। त्यसै पनि होला आज बुधबारबाट शो संख्यामा उल्लेखनिय मात्रामा बढेकोछ। बुधबार २०० शो प्राप्त गरेको यो फिल्मले अझै एक हप्ता हलमा रहने देखिन्छ। यस बाहेक अनमो केसीको ‘जेरी अन टप’,‘वरिष्ठ बलराम’लगायत प्रदर्शनमा आउने छन्।