काठमाडौं :
‘वर्ल्ड फिल्म फेस्टिभल इन क्यान्स’मा नेपाली कथानक चलचित्र ‘गौैँथली’ले ‘वेस्ट फरेन सिनेमा’को अवार्ड जितेको छ। फ्रान्समा मासिक र वार्षिक रुपमा हुने यो अवार्डमा नेपाली चलचित्र ‘गौँथली’ले ‘वेस्ट फरेन सिनेमा’को अवार्ड हात पारेको हो।
यो फेस्टिभललाई ‘वर्ल्ड फिल्म फेस्टिभल इन क्यान्स’ रिभेम्बर द फ्युचर पनि भनिन्छ । यो फ्रान्सको क्यान्समा आयोजना हुने फिल्म फेस्टिभल हो । यो फेस्टिभलमा मासिक रूपमा अनलाइन सबमिट हुन्छ भने मासिक/वार्षिक रूपमा भौतिक स्क्रिनिङ, रेड कार्पेट र अवार्ड समारोह हुने गरेको छ।यो सफलतालाई चलचित्र ‘गौँथली’का निर्देशक र निर्माताले यसलाई ‘गौँथली’को अन्तर्राष्ट्रिय उडान भनेका छन्।

“आज मन गर्वले भरिएको छ,अनि आँखामा खुसीका आँसु छन्। २५ वर्षअघि मेरा बुवा डा. भोला रिजालले निर्माण गर्नुभएको गीतिचलचित्र ‘गौँथली’को त्यही भाव, त्यही माया र त्यही विरासतलाई आत्मसात् गर्दै मैले नयाँ पुस्तासम्म नयाँ ढंगले पुर्याउने एउटा सानो प्रयास मात्र गरेको हुँ,” ‘गौँथली’का निर्देशक डा. कपिल रिजाल भन्छन्,“तर,आज ‘गौँथली’ले जुन माया, साथ र सफलता प्राप्त गरेको छ, त्यसले मन भावुक बनाएको छ ।”
उनले ‘गौँथली’ केवल एउटा चलचित्र मात्र नभएर यो भावना, सपना र नेपाली चलचित्रप्रतिको प्रेमसँग जोडिएको एउटा सुन्दर यात्रा भएको बताएका छन्।उनले यो सफलतालाई व्यक्तिगत सफलतामात्र नभएर सम्पूर्ण ‘गौँथली’ टिमको जित भएको बताएका छन्।निर्माता सुमन गिरीले गौरवमय इतिहास बनाएको बताएका छन्। “तपाईंहरूको माया, साथ र आशीर्वादले आज हाम्रो ‘गौँथली’ कान्ससम्म पुगेर विजेता बन्न सफल भएको छ।
हिजो एउटा सपना थियो, आज त्यो सपना गौरवपूर्ण इतिहास बनेको छ,” उनी भन्छन्, “हाम्रो सानो प्रयासलाई तपाईंहरूले दिनुभएको ठूलो माया, विश्वास र हौसलाले आज यो खुसीको क्षण सम्भव भएको छ। यो नेपाली चलचित्रको जित हो, नेपाली माटोको जित हो ।”
डा. कपिल रिजालको निर्देशन रहेको चलचित्र ‘गौँथली’ अहिले पनि प्रदर्शनरत छ। प्रदर्शनको सय दिन मनाइसकेको सिनेमाले २६ करोडमाथिको व्यापार गरिसकेको छ। यो नेपाली सिनेमा उद्योगको सबैभन्दा धेरै कमाउने दोस्रो सिनेमा बनिसकेको छ । ‘गौँथली’मा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन्।