काठमाडौं :
नेपाली फिल्म ‘३६ को आँकडा’मा अभिनयका लागि नायिका निरुता सिंह नेपाल आएकी छन्। मुम्बईबाट आइतबार राति काठमाडौं आएकी उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै फिल्ममा फर्किन पाउँदा उत्साहित रहेको बताइन्।
“अब म कहीँ जान्न। म निरन्तर नेपाली फिल्ममै काम गर्छु,” निरुताले भनिन्। उनका अनुसार कोरोना संक्रमणका कारण केही समय फिल्मबाट टाढा रहनुपरेको थियो। उनले नेपाली फिल्मबाट अलग हुन नसक्ने बताउँदै भविष्यमा निरन्तर अभिनय गर्ने प्रतिबद्धता जनाइन्।
फिल्म ‘३६ को आँकडा’को निर्देशन सविर श्रेष्ठले गर्दै छन्। श्रेष्ठका अनुसार निरुता सिंहका लागि फिल्ममा विशेष खालको भूमिका तयार गरिएको छ, जसलाई हाल सार्वजनिक नगरिने जानकारी दिए। “मैले सहायक निर्देशक हुँदा निरुता दिदीसँग काम गरेको थिएँ। तर, निर्देशक भएर पहिलोपटक काम गर्न लागिएको हो,” श्रेष्ठले भने।
फिल्ममा निरुता सिंहसँगै रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का लगायत कलाकारको अभिनय रहनेछ। रेखा थापा र निरुता सिंहले लामो समयपछि एकै फिल्ममा काम गर्न लागेका हुन्। उनीहरूले यसअघि फिल्म ‘दुई पल’ मा सहकार्य गरेका थिए।
नायिका सिंहले यसअघि फिल्म ‘दाल भात तरकारी’ मा अभिनय गरेकी थिइन्। ‘३६ को आँकडा’ मार्फत उनी पुनः क्यामेराको अगाडि फर्किन लागेकी हुन्। फिल्मको छायांकन आजदेखि सुरु हुने जनाइएको छ।