सुचना, समाचार र मनोरन्जन

‘प्रेमगीत ३’ बाट डेब्यु गरेकी अभिनेत्री क्रिस्टिना गुरुङले सुरु गरिन् बुटिक व्यवसाय

काठमाडौं :

‘प्रेमगीत ३’ बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री क्रिस्टिना गुरुङले अभिनयपछि अब व्यवसायमा पाइला टेकेकी छन्। उनले ‘अमोरा नेपाल’ नामक बुटिक व्यवसाय सुरु गरेकी हुन्।

महाराजगञ्जस्थित नारायणगोपाल चोकमा कृष्ण जन्माष्टमीको अवसर पारेर शनिबारदेखि उक्त बुटिक सञ्चालनमा आएको हो। बुटिकमा महिलाका लागि विभिन्न डिजाइन र रंगका कुर्था, सारीलगायत आकर्षक पहिरन उपलब्ध छन्।

क्रिस्टिनाले सामाजिक सञ्जालमार्फत आफ्नो नयाँ व्यवसायलाई ‘अर्थपूर्ण सुरुवात’को संज्ञा दिँदै लेखेकी छन्, “कृष्ण जन्माष्टमी मेरो जीवनमा सधैं विशेष रहँदै आएको छ। र, यस वर्ष यो अझ अर्थपूर्ण कुराको सुरुवात हो।” उनको पोस्टमा प्रशंसकहरूले शुभकामना दिएका छन्।

फिल्म ‘प्रेमगीत ३’ मा अडिसनमार्फत चयन भएकी क्रिस्टिनाको अभिनयको आलोचना भए पनि फिल्मको व्यावसायिक सफलताले उनलाई निर्माता–निर्देशकहरूको नजरमा ल्याएको थियो। तर, फिल्म रिलिजपछि भने उनी सार्वजनिक जीवनबाट ओझेलमा परेकी थिइन्। उनले प्राप्त थुप्रै फिल्म प्रस्ताव अस्वीकार गरेकी थिइन्।

अञ्जली अधिकारीजस्ता प्रतिस्पर्धी मोडलहरूलाई उछिन्दै मुख्य भूमिकामा पुगेकी क्रिस्टिनाको फिल्म क्षेत्रतर्फ पुनः फर्किने सम्भावना बारे हाल निश्चित भइसकेको छैन। दुई वर्षयता लाइमलाइटबाट टाढा रहेकी उनले अब व्यवसायलाई प्राथमिकता दिएकी देखिन्छन्।

Leave A Reply

Your email address will not be published.