सन्तोष बस्याल, पोखरा ।
हरितालिका तीजका समयमा पोखरामा थुपै्र कार्यक्रमको आयोजना गरिएको हुन्छ । तीज गीत प्रतियोगिता देखि दर खाने कार्यक्रम भइरहेकै हुन्छन् । जति पनि कार्यक्रमको आयोजना गरिएको हुन्छ उनीहरुको उद्देश्य एउटै हुन्छ । तर पोखरामा आगामी भदौ २५ देखि २७ गते सम्म तीज साँस्कृतिक महोत्सवको आयोजना गरिँदैछ । पर्यटन व्यवसायी महिला संघ (टेवान) ले गर्ने महोत्सवमा स्थानीय उत्पादन सँगै सांस्कृतिक पक्षलाई जोड दिएको छ । विदेशी तथा स्वदेशी पर्यटकहरुलाई लक्षित गरिएको कार्यक्रम पोखराको लेकसाइड स्थित कोमागाने पार्कमा हुँदैछ ।
टेवानको यो पृथक कार्यक्रम हो । महिलाहरुको तीज पर्वलाई पर्यटन सँग पनि जोड्ने हेतुले कार्यक्रमको आयोजना गरिएको टेवानकी अध्यक्ष एवम् महोत्सवकी संयोजक कमला गिरीले बताइन् । ‘भोलीका दिनमा यसलाई नै ब्राण्ड बनाउने योजना छ । अफसिजनमा पनि पोखरामा पर्यटन सम्बन्धि गतिविधि हुन्छ भन्ने जानकारी गराउने गरी कार्यक्रमको आयोजना गरिएको हो ।’, उनले भनिन् ।
तीज सांस्कृतिक महोत्सवमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका महिला दिदीबहिनीहरुको सहभागिता रहनेछ । ११ वटै जिल्लाका महिला दिदीबहिनीहरुले उत्पादन गरेका उत्पादित वस्तुहरुको बजारीकरण समेत गरिनेछ । पर्यटन बजारमा महिला दिदीबहिनीहरुको सीपलाई प्रस्तुत गर्ने लक्ष्य कार्यक्रमको हो ।
जिल्लागत स्टलहरुको व्यवस्था गरी व्यवसायिक प्रदर्शनी पनि गरिने उनले बताइन् । स्थानीय उत्पादनको प्रचारप्रसारका लागि महोत्सव उत्कृष्ट गन्तव्य बन्ने विश्वास गरिएको छ । पोखरा महानगरपालिकाका ३३ वटै वडाका महिला दिदीबहिनीहरुको सहभागिताले महोत्सवको रौनकता बढ्ने उनले उल्लेख गरिन् ।
तीन दिनको कार्यक्रममा तीज गीत प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, महिला दौड प्रतियोगिता, महिला हाजिरीजवाफ प्रतियोगिता लगायतका कार्यक्रमको आयोजना गरिने छ ।
महिलाहरुको हाजिरीजवाफ प्रतियोगितालाई विशेष कार्यक्रमका रुपमा लिइएको गिरीले बताइन् । ‘घरकै चुलोचौकोमा व्यस्त महिलाहरुको नेतृत्व विकासमा टेवा पुग्ने हेतुले उक्त कार्यक्रम राखिएको हो । सांस्कृतिक, धार्मिक, राजनीतिक, पर्यटन, आर्थिक र सामाजिक विषयमा महिला दिदीबहिनीहरुको चासो कत्तिको छ ? उनीहरुले कत्तिको अध्ययन गरिरहेका छन् ? भन्ने विषयमा जानकारी लिन पनि हाजिरीजवाफ प्रतियोगिता राखिएको हो ।’, उनले भनिन् ।
गण्डकी प्रदेश भरका महिलाहरुको सहभागिता गराउने गरी आयोजना गरिएको तीज सांस्कृतिक महोत्सव आफैमा नयाँ भएको उनले बताइन् । मनाङ, मुस्ताङ जिल्लाका महिलाहरु पनि स्टल सहित सहभागिता जनाउनेछन् । यस्ता गतिविधिले पर्यटन क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सहयोग पुग्ने विश्वास उनको हो । धर्म संस्कृति, खेलकुद र मनोरञ्जनका विषयलाई आत्मसात् गर्दै कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रम सफल पार्नका लागि १८ लाख खर्च हुने अनुमान गरिएको छ । गिरीले भनिन्, ‘तीज सांस्कृतिक महोत्सव समग्र पोखराबासीको कार्यक्रम हो । टेवानले आयोजना गरे पनि पोखराका हरेक संस्था, प्रतिष्ठित व्यक्तित्व र स्थानीय निकायको सहयोग रहनेछ । पोखरा पर्यटन परिषदको साथ छ । सबैको आर्थिक, नैतिक, भौतिक सहयोग प्राप्त भएको छ ।’
थैली थापेर नै कार्यक्रमको आयोजना गरिएको उनले बताइन् । पहिलो कार्यक्रम भएकाले प्रचारप्रसारमा पनि ख्याल गरिएको छ । परिचय एडभटाइजिङ सँग सम्झौता गरी कार्यक्रमको आयोजना गरिएको हो । लोकदोहोरी प्रतिष्ठान गण्डकीको समेत सहयोग रहनेछ । ‘हाम्रा विभिन्न खेलका कार्यक्रमहरुलाई सफल पार्न प्राध्यापक समिर बराल, राजन पौडेल, मनशान्त घिमिरे सरहरुले पनि सहयोग गर्नुभएको छ ।’, उनले भनिन् । त्यसै गरी पोखरा पर्यटन परिषद, रेवान लगायतका संस्थाहरुले पनि प्रचारप्रसारमा साथ दिएको छ। सल्लाहकार गणेश भट्टराई, संस्थापक अध्यक्ष लक्की कार्की, रेनु थापा, सल्लाहकार टिकाराम सापकोटा, बबरजंग गुरुङ लगायतको सहयोगले महोत्सव सफल हुने विश्वास गरिएको छ ।
पहिलो संस्करणको कार्यक्रम भएकाले केही समस्या भएता पनि सबैको साथ मिल्नेमा गिरी आशावादी छिन् । तीज सांस्कृतिक महोत्सवमा टिकट राखिएको छैन । निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।