काठमाडौँ :
केहि दिन यता सामाजिक सञ्जाल केही आध्यात्मिक संस्थाहरुले फिल्म ‘एक भगवत गीता’को नामबारेमा उठाएका प्रश्न उठाएका छन्। फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा नामलाई लिएर विमति राख्ने समुह र निर्माण पक्षबीच चलचित्र विकास बोर्डमा छलफल भएको छ ।
भाद्र १८ गते सोमवार बोर्ड अध्यक्ष भुवन केसीको उपस्थितिमा भएको छलफलमा फिल्मका तर्फबाट निर्माता सुनिल कुमार थापा, निर्देशक झरना थापा र नायिका सुहाना थापा सहभागि रहेका थिए भने हिन्दु जागरण नेपालका रामकृष्ण उपाध्याय, हरिप्रसाद पाठक, शिव सेना नेपालकी सिर्जना वाग्ले, मनोज सापकोटा, विश्व हिन्दु युवा संघ अन्तराष्ट्रिय समितिका सागर थापा लगायत आध्यात्मिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।
भाद्र २९ गते रिलिज मिति तोकिएको यो फिल्मको नाम परिवर्तन गर्नुपर्ने माग आध्यात्मिक विकास समाज, हिन्दु जागरण नेपाल र विश्व हिन्दु युवा संघ अन्तराष्ट्रिय समितिले गरेका थिए । श्रीमद भगवत गीता कुनै कथा नभई सन्देशहरूको ग्रन्थ भएको कारण कथाको रुपमा गलत तरिकाले प्रस्तुत गर्न लागिएको आरोप ति संस्थाहरूले लगाएका थिए ।
फिल्मको नामलाई लिएर फिल्म चल्न नदिनेसम्मका कुराहरु बाहिर आएपछि निर्माणपक्ष र विरोध पक्षबीचको छलफल भएको हो। आरोप लागेपछि निर्माण टिमले त्यसको प्रतिउत्तरमा निर्माण पक्षले भगवत गीताको नाममा कुनै गलत सन्देश दिन नखोवको प्रष्ट पारेको छ।
बोर्ड अध्यक्ष भुवन केसीले चलचित्रको निर्माता परिवार नै अध्यात्ममा विश्वास राख्ने भएको कारणले पनि यो चलचित्रले धर्मग्रन्थलाई गलत व्याख्या नगरेको विश्वास लिएको बताए । उनले कुराकानीका क्रममा भने।‘हुनत मैले यो चलचित्र हेरेको छैन तरपनि उहाँहरूको परिवारका सबै सदस्य नै आध्यात्मिक रहेको कारण श्रीमद भगवत गीताको सन्देशको विपरित चलचित्र बनाउनुभएको छ भन्ने लागेको छैन । यद्यपि चलचित्र हेरेर मात्र नाम परिवर्तनको बिषयमा निर्णय लिनु उत्तम हुनसक्छ ।’
उनका अनुसार समस्या समाधानको लागि बोर्डले सदैव सबै पक्षलाई स्वागत गर्नेछ। बोर्डका प्रवक्ता केएल बुढाथोकीले परिचयसँगको कुराकानीमा भने,‘यो छलफल अत्यन्त महत्वपूर्ण, सार्थक, सकारात्मक एवम् पेचिलो भएको छ।‘एक भगवत गीता’बारे विवाद र विमति सकारात्मक निष्कर्षमा पु¥याउन सर्वसम्मत सहमति भएको जनाउनुभयो ।’
उनले कुनै पनि जात, धर्म, समुदाय, लिंग, क्षेत्र र भाषा संस्कृतिमाथि आघात पु¥याउने, विभेद सिर्जना गर्ने, द्वैष र घृणा फैलाउने वा कुनै किसिमको मानहानी हुने आशय व्यक्त गर्नु हुँदैन भन्ने कुरामा बोर्ड स्पष्ट र दृढ रहेको समेत बताए।
सो छलफलमा बोर्डका सदस्य सचिव विशाल सापकोटा, सदस्यहरू राजु केसी र रबिचन्द्र अधिकारी सहित चलचित्र वितरकद्वय गोपाल कायस्थ र गोबिन्द शाही, चलचित्र निर्माता उदय सुब्बा लगायतको सहभागीता थियो ।