सुचना, समाचार र मनोरन्जन
Sarangi

मध्यरातमा झरना थापाको भावुक स्टाटस ‘अब भगवान भरोसा’

पोखरा ।

मध्यरातमा झरना थापाले एउटा स्टाटस पोष्ट गरेकी छिन् । शनिबार राति उनको फेसबुक पेजमा गरिएको पोष्टमा अब भगवान भरोसा भनेर उल्लेख गरिएको छ । खासगरी उनले निर्देशन गरेको ‘एक भगवत गीता’ सिनेमाको शिर्षकलाई लिएर विवाद आएपछि निर्माण टीम अहिले तनावमा छ । रिलिजको छेकोमा आएर विवाद गरिनुको कुनै तुक नभएको बताइएको छ । उसो त चलचित्र विकास बोर्डमा शुक्रबार भएको छलफलमा विवादका विषयमा आइतबार (आज) टुंगो लाग्ने भनिएको छ । तर पनि झरना थापाले यस्तो स्टाटस लेखेकी छिन् ।

‘मध्यरातमा मैले आज यो लेखिरहदा खेरि धेरै जना निदाई सक्नुभएको होला । कति जना अझै निदाउनु भएको छैन होला । मान्छेलाई अत्यन्तै पीडावोध र निराशा भयो भने निद्रा नलाग्दो रहेछ । जुन आज म महसुस गरिरहेको छु । प्रार्थना गर्छु , जो जति जना निदाउनु भएको छैन हजुरहरु ननिदाउने कारण मेरो जस्तो नहोस ।

मैले मेरो जीवनको तीन दशक अनवरत रुपमा चलचित्र क्षेत्रमा दिएँ । प्रिय दर्शक हजुरहरुको मायाले म पर्दामा छाइरहें। मैले पनि दिनरात , झरीबादल , घर परिवार नभनी हजुरहरुलाई मनोरंजन दिन अथक काम गरिरहें । सम्पूर्ण नेपाली दर्शकहरुको माया र साथको कारणले म अभिनय हुदै निर्देशनमा आइपुगेको छु । म जहाँ छु ,जे छु ,जस्तो छु ,म नेपाली जन र नेपाली मनको आशिर्वादले छु । यहि प्रेरणाले म मेरो अन्तिम सास सम्म चलचित्रमै काम गर्छु भनेर हिंडीरहेकी छु । मेरो जिन्दगी भनेकै चलचित्र कर्म र दर्शक हरुको खुसि हो । त्यसबाहेक केहि छैन ।

मैले निरन्तर चलचित्र गरिरहेको छु र निर्देशकको रुपमा हजुरहरुको माया र स्नेह निरन्तर पाइरहेको छु । यहि क्रममा समाजको केहि यथार्थलाई टिपेर एउटा चलचित्र हामीले बनायौं । चलचित्रको कथावस्तु तथा मेरो भगवान श्रीकृष्ण प्रतिको असिम आस्था लाई केन्द्रमा राखेर चलचित्रको नाम “एक भगवत गीता “ राख्यौं । मैले मेरो जीवन भर राष्ट्र,हाम्रो देशको इतिहास, भौगोलिक अखन्ड़ता,सांस्कृतिक विविधता, धार्मिक आस्था र सहिष्णुतामा आंच आउने कर्म अहिले सम्म कहिल्यै गरेको छैन । हामीले एक भगवत गीता निर्माण पुरा गरेर अब हजुरहरुको हातमा सुम्पन तयार भैसके पछि चलचित्रको नाम माथि प्रश्न उठाइयो । हामीले उठेका प्रश्नहरुको विनम्रता पुर्वक उत्तर दियौं । हामीले हाम्रो चलचित्रमा हिन्दु पवित्र ग्रन्थ श्रीमद्भागवतगीताको कुनै पनि अवहेलना गरेका छैनौ भनेर कथाको सार नै प्रस्तुत गर्यौं । चलचित्रको स्क्रिप्ट नै अध्ययन गर्न दियौं । अझ चित्त नबुझे रिलिज पुर्व चलचित्र हेर्न पनि अनुरोध गर्यौं ।

प्रिय दर्शक बृन्द , मेरो आफ्नो जीवन नै भगवान श्रीकृष्णको आस्थामा चलेको छ र श्रीमद्भागवत गीता आफैमा मेरो चलचित्र कर्मको प्रेरणा हो । म धार्मिक आस्था र सहिष्णुतामा सचेत छु र कथा चयन गर्दा सबै कुराको अध्ययन गरेको छु । बारम्बार हामीले हाम्रो चलचित्रको कथावस्तु सुनाएर, श्रीमद्भागवतगीताको अवहेलना नभएको स—प्रमाण बताईरहदा पनि चलचित्रलाई सेन्सर अनुमति नै दिईएको छैन र निक्र्यौल आइतबार(आज) गरिने भनेर भनिएको छ । आफ्ना सारा स्रोत सम्पति , सपना र अहिले सम्मको चलचित्रकर्मको लगानी गरेर बनाइएको चलचित्र यसरी चल्नै नदिने अवस्था आउदा मर्नु न बाँच्नुको पीडा भैरहेको छ । थाहा छैन हाम्रो चलचित्र हजुरहरुको आँखा सम्म आउन् पाउछ कि पाउदैन । थाह छैन, प्रिय दर्शक हरुको मायाको तेलले बलिरहेको यो झरना थापा नामको दियो अब बल्न पाउछ कि पाउदैन । सत्य बोलिरहदा पनि सहि छु भनेर प्रमाण दिईरहदा पनि कसैले न सुनिदिए पछि अन्तिममा फैसला त भगवान ले गर्नु होला नि हैन ?
मैले मेरो फैसला मेरो भगवानको हातमा छोडीदिएको छु ।

प्रिय दर्शक हरु !!!!

भगवान श्री कृष्ण !!
हरे कृष्ण !!!’ 
Leave A Reply

Your email address will not be published.