सुचना, समाचार र मनोरन्जन
Sarangi

दशैंका लागि पोखरा आइपुग्यो च्याङ्ग्रा, एउटैलाई ६० हजार (फोटो फिचर)

पोखरा ।

नेपालीका घरघरमा दशैँ भित्रनै लाग्दा हिमालपारिको जिल्ला मुस्ताङसहितका विभिन्न स्थानबाट यतिखेर पोखरामा च्याङ्ग्रा झर्ने क्रम शुरु भएको छ ।

व्यापारी यतिखेर हुलका हुल च्याङ्ग्राका साथ हेम्जा र आसपासका क्षेत्रमा झरिसकेका छन् भने कतिपय बाटामा छन् । पोखरा र आसपासमा दशैँको समयमा खसी बोकाभन्दा पनि च्याङ्ग्रा नै खाने प्रचलन छ ।
पहाडी एवं तराईमा पालिने खसी बोकाको तुलनामा हिमाली भेगको च्याङ्ग्रो स्वास्थ्यका हिसाबले पनि राम्रो मान्ने गरिन्छ ।

अरु बेला च्याङ्ग्रा नल्याइने भएकाले वर्षमा एक पटक दशैँमा भने च्याङ्ग्राकै मासु खाने भन्ने प्रचलनले पनि यसको माग बढ्दो भएको बझाङबाट च्याङ्ग्रा पोखरा ल्याएका व्यापारी मोहन बोहोरा बताउँछन् ।
सवारी भन्दा पनि ठाउँठाउँमा चराएर ल्याउनुपर्ने भएकाले पोखरा आउन समय लाग्ने भनाई उनको छ ।

उसो त दशैँ आउनुअगाबै च्याङ्ग्रा किन्नकै लागि झण्डै एक महीना अघि व्यापारी मुस्ताङ पुगिसक्ने गर्दछन् । उच्च हिमाली क्षेत्रमा चर्ने भएकाले पोखरा सुरक्षित तवरबाट ल्याउन झण्डै १५/२० दिन हिँडाएर च्याङ्ग्रा ल्याउनुपर्ने बाध्यता छ । बझाङबाट समेत उत्तिकै समय लाग्ने बोहोराको भनाई छ ।

मुस्ताङमा नै च्याङ्ग्राको खरीद मूल्य रु २५ देखि ३० हजार पर्ने भएकाले पोखरा ल्याइ पुर्याउँदा च्याङ्ग्राको मुल्य ३५ देखि ६० हजार सम्म पर्न जाने व्यापारी प्रभात थापा बताउँछन् । हिँडाएर ल्याउनुपर्ने त्यसमाथि समय लाग्ने र खर्च पनि बढ्ने भएकाले मुल्य बढी हुन जाने उनले बताए । वर्षेनी च्याङ्ग्राको मुल्य बढ्दै गएको छ । महङगाई बढेसँगै च्याङग्राको भाउ बढेको तर्क थापाको छ ।

दशैँका लागि पोखरा ल्याइएका च्याङ्ग्रा व्यापारीले सकेसम्म सप्तमी र अष्टमीमा सबै बेचेर फर्कने गरेका छन् । यस अवधिमा बेच्न नसके सस्तो मूल्यमा बेचेर फर्कनुपर्ने गरेको व्यापारीको तितो अनुभव छ । पोखरा झरेका च्याङ्ग्रा स्याङ्जा, तनहुँ, चितवन हुँदै बुटवलसम्म पुग्ने गरेका छन् ।

Leave A Reply

Your email address will not be published.