सुचना, समाचार र मनोरन्जन
Sarangi

टी–२० विश्वकपको एसिया क्षेत्र छनोटमा मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौँ/

आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपको एसिया क्षेत्र छनोटमा नेपाल लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ। कुशल भुर्तेल र कुशल मल्लको विष्फोटक इनिङमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै अन्तिम ४ मा प्रवेश गरेको हो। नेपालसँग हारेसँगै मलेसिया र सिंगापुर भने प्रतियोगिताबाट बाहिरिएका छन्।

मंगलबार भएको प्रतियोगिताको दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो। नेपालले मलेसियालाई हराएसँगै समूह ‘ए’ बाट एक खेलअगाडि नै सेमिफाइनल समीकरण पूरा भएको छ। ओमान र नेपालले अन्तिम चारमा स्थान बनाए। अब समूह विजेताको टुंगो ओमान र नेपालबीचको खेलले तय गर्नेछ।

टियू मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६६ रनको लक्ष्य दिएको थियो। जवाफमा उक्त लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो।

नेपालको जितमा कुशल मल्लले सानदार ब्याटिङ गरेका थिए। मल्लले ३४ बलमा ६५ रन बनाएर आउट भए। उनले आफ्नो इनिङमा २ चौका र ७ छक्का प्रहार गरेका थिए। उनले टी–२० मा तेस्रो अर्धशतक प्रहार गरेका हुन्। त्यस्तै, ओपनर कुशल भुर्तेलले २५ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ४३ रन बनाउँदा आसिफ शेख ३२ रन बनाएर आउट भए। त्यस्तै, सन्दीप जोरा १८ रनमा नटआउट रहँदा विवेक यादव २ रनमा अविजित रहे।

मलेसियाका लागि मुहम्मद अमिरले ३ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको मलेसियाका लागि ओपनर शैयद अजिजले सर्वाधिक ६८ रनको अर्धशतकीय इनिङ खेले। उनले ४९ बलमा ८ चौका र २ छक्काको सहयोगमा ६८ रन बनाएका थिए। त्यस्तै, अहमद जुबैदीले १६ बलमा ३ चौकाको सहयोगमा २४ रन बनाए।

यी दुईबीच पहिलो विकेटका लागि ५८ रनको साझेदारी भएको थियो। थप दोहोरो स्कोरका रुपमा शर्भिन मुनिन्दाले १३ रन बनाउँदा विजय युनी १३ रनमा अविजित रहे। नेपालका लागि अभिनाश बोहराले सर्वाधिक ४ विकेट लिँदा सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले समान १–१ विकेट लिएका थिए।

Leave A Reply

Your email address will not be published.