सुचना, समाचार र मनोरन्जन
Sarangi

पोखरामा केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट सुरु

पोखरा/

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा पोखरा रंगशालामा बिहीबारदेखि ‘प्रथम केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता’ सुरु भएको छ ।

‘सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ पोखराबाट पहिलो पटक सुरु भएको उक्त प्रतियोगिताको एकेडेमी संरक्षक समेत रहेको नेकपा ९एमाले० अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ब्याटिङ गरेर उद्घाटन गरेका हुन् । जसमा पूर्व उपप्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बलिङ गरेका थिए । लगत्तै ओलीको बलिङमा पौडेलले ब्याटिङ फर्काएका थिए ।

मंसिर १५ सम्म चल्ने प्रतियोगितामा १२ टिमले भाग लिएका छन् । उद्घाटन खेल बागमती प्रदेश र आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी रातोबीच भएको छ । आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी रातोले टस जितेर बागमतीलाई ब्याटिङको निम्तो दिएको थियो । बागमती सन्दिप लामिछानेको कप्तानीमा व्याटिङ गर्दै २० ओभरमा ७ विकेटको क्षतीमा १७४ रन बनाएको छ ।

प्रतियोगिता उद्घाटन अवसरमा एकेडेमी परिकल्पनाकारसमेत रहेको नेता ओलीले पोखराको क्रिकेट मैदानलाई स्तरोन्नति गर्ने बताए । उनले आफू प्रधानमन्त्री भएको बेला सरकारले देशभर खेल मैदान निर्माणमा जोड दिएको उल्लेख गर्दै पोखरा रंगशाला निर्माण, दशरथ रंगशालाको पुनर्निमाण तथा जनकपुर रंगशाला निर्माण गरिएको बताए ।

आफ्नो सरकारको पालामा झापाको दमकमा पनि रंगशाला निर्माण थालिएको जनाउँदै ओलीले भने, ‘देशको गरिमा माथि उठाउन खेल, खेलाडी र खेल क्षेत्रको महत्वपूर्ण भूमिका छ । केपी ओली क्रिकेट कप सुरुआत हो । आगामी दिनमा पनि अझ भव्यताका साथ संचालनमा सफलता मिलोस् ।’ उनले क्रिकेट खेल नेपालमा ढिलो गरी विकास भए पनि पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने स्तरमा पुगेको उनको भनाइ थियो ।

पूर्व उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले एमाले सरकारको पालामा खेल क्षेत्रलाई निकै महत्व दिएको दाबी गरे । राष्ट्रको सम्मान र स्वाभिमान विकासमा खेल क्षेत्रले निकै महत्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाइ थियो । उनले मुस्ताङ, सोलुखुम्बु, जुम्लामा हाइ अल्टिच्युट स्टेडियम निर्माणमा आफूहरुको पहल रहेको बताए ।

राष्ट्रिय खेलकुद परिषद् बोर्ड सदस्य एवं मदन भण्डारी स्पोर्टस् एकेडेमीका उपाध्यक्ष राजेशकुमार गुरुङले माछापुच्छे« हेरेर खेल्न सकिने पोखरामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानको आवश्यकता औंल्याए ।

एकेडेमी अध्यक्ष ध्रुव आचार्यले एकेडेमीले अनुशासित, राष्ट्रप्रेमी, मेहनति र प्रतिस्पर्धी नागरिक उत्पादन गर्न बालबालिकादेखि युवासम्मलाई खेलकुदमा आकर्षित गर्न विभिन्न खेल प्रशिक्षण, खेल गतिविधि र प्रतिस्पर्धा आयोजना गरिरहेको उल्लेख गरे । प्रतियोगिताले पनि खेल पर्यटनमार्फत यस क्षेत्रको खेल विकाससँगै आर्थिक समृद्धिका लागि समेत महत्वपूर्ण टेवा मिल्ने अपेक्षा गरे ।

पोखरा रंगशालामा आयो्जित उद्घाटन समारोहमा पञ्चेबाजा र नाचगानसहित विभिन्न मार्शल आर्ट खेलका खेलाडीहरुले पदर्शनी समेत गरेका थिए ।

प्रतियोगितामा ३ विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल प्रहरी क्लबसहित कोशी, बागमती, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको टिमले भाग लिएका छन् । साथै, युवा खेलाडी उत्पादनका लागि एकेडेमीले आफ्ना २ टिमलाई समेत मैदान उतारेको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी क्रिकेट विभाग प्रमुख शक्ति गौचनका अनुसार प्रतियोगितामा शुक्रबारदेखि दैनिक २ खेल हुने छन् ।

चार समुहमध्ये समूह ‘ए’ मा बागमती, कर्णाली र मदन भण्डारी स्पोर्टस् एकेडेमी रातो छन् । समूह ‘बि’ मा एपिएफ, लुम्बिनी र गण्डकी, समूह ‘सि’ मा नेपाल पुलिस, मधेश प्रदेश र सुदूरपश्चिम छन् भने समूह ‘डि’ मा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी नीलो छन् ।

विजेताले ५ लाख नगद, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले २ लाख ५० हजार नगद, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै म्यान अफ दि सिरिजले ३० हजार, बेस्ट ब्याटर र बलरले जनही २० हजार तथा म्यान अफ दि म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिता सम्पन्न गर्न ७७ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान गरिएको एकेडेमीकी उपमहासचिव सूवर्ण श्रेष्ठले जानकारी दिएकी छन् ।

२०६६ पुस १७ मा स्थापना भएको मदन भण्डारी स्पोर्टस् एकेडेमीले यसअघि विभिन्न प्रदेशमा खेलुकदका विभिन्न राष्ट्रिय प्रतियोगिता गरिसकेकोमा केपी ओली कप क्रिकेट आगामी वर्ष पनि निरन्तरता पाउने एकेडेमीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.