सुचना, समाचार र मनोरन्जन

‘बारीको डिलमा ओखरबोट’ राष्ट्रियनाचघरमा गुञ्जियो,तीर्थकुमारीलाई आफ्नै पुराना गीत (फोटो फिचर )

काठमाडौँ :

अग्रज लोकगायिका तीर्थकुमारी थापाको पहिलो एकल सांगीतिक साँझ सम्पन्न भएको छ । राष्ट्रिय नाचघर जमलमा शुक्रबार आयोजित ‘तीर्थ कुमारी स्वर्णिम साँझ २०८०’लाई नाम दिइएको उक्त कार्यक्रममा गायिका थापाले करिब २ घण्टा गायन प्रस्तुति दिइन् । केही युगल गीतमा संगीतकार समेत रहेका छोरा सुरजकुमार थापाले उनलाई साथ दिए ।

अन्नपूर्ण चेम्बर अर्केष्ट्राको आयोजना र काठमाडौँ प्रज्ञा कुञ्ज स्कुल र तुलसी भवन कन्ट्रक्सनको सह आयोजनामा सम्पन्न कार्यक्रममा ‘डाँडामाथि बिहानै’बोलबाट सुरु भएको प्रस्तुतिमा गायिका थापाले आफ्ना थुप्रै चर्चित गीतहरू पस्किइन् । कार्यक्रममा वरिस्ठ संगीतकार रन्जीत गजमेर ,गायिका मिरा राना , गीतकारहरु डा. भोला रिजाल, आनन्द अधिकारी, दिनेश अधिकारी , सिएनएन हिरो अनुराधा कोइराला, गायकहरु सत्यस्वरुप ,लगायत संगीत क्षेत्रक व्यक्तित्वहरुको बाक्लो उपस्थिती थियो।

Pach Pandav

विसं २०२८ सालमा रेडियो नेपालमा गीत रेकर्डिङ गरेर गायन यात्राको सुरुआत गरेकी ७३ वर्षिया गायिका थापाले ‘म त खाँदिनँ कुवाको पानी हो’, ‘ढुङ्गे बगर माया’, ’झम्के फूली, नाकैमा बुलाकी’, ’उकालीमा पनि हजुर मोटर जाँदो रैछ’, ‘बारीको डिलमा ओखरबोट’, ‘माछी मार न हे दाइ हो’लगायत डेढ दर्जन गीत गाउँदा दर्शक गीतमा झुमे । ‘झम्के फूली’माथिको अन्तिम प्रस्तुतिपछि दर्शकले ‘माछी मार न’को फर्माइस गरे । दर्शकको आग्रहपछि उनले उक्त गीत पुनः गाइन् ।

कार्यक्रममा २ वटा नेवारी गीतमाथि पनि गायिका थापाले प्रस्तुति दिइन् । ‘दाइ काँ को’बोलको गीतमा रचनाकार रत्न बेहोशीले उनलाई गायनमा साथ दिए । एकल साँझ गर्ने आमाको सपनालाई पूरा गर्न पाउँदा संगीतकार सुरज खुसी देखिएका थिए । ‘मेरो सपना पूरा भयो । आमाका लागि यति गर्न पाएँ, मेरो जीवन सफल भयो । आमालाई यसरी नै आागामी वर्षहरूमा गाउन लगाइरहन पाऊँ,’ सुरजले भने ।

५ दशकदेखि लोकसंगीतमा सक्रिय गायिका थापाले हालसम्म एक हजारभन्दा बढी गीत रेकर्ड गरिसकिन् । उनले प्रबल गोरखा दक्षिणवाहु मानपदवी २०५७, वीरेन्द्र ऐश्वर्य सेवा पदक २०५८ लगायत दर्जनौँ सम्मान, पदक र पुरस्कार प्राप्त गरिसकेकी छिन् ।

Leave A Reply

Your email address will not be published.