काठमाडौं :
एक अर्कालाई दोसारोपण गर्दै आएका अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एउटै फिल्ममा काम गर्ने भएका छन्। जसलाई निर्देशक दिनेश राउतले आफ्नो फिल्म ‘पूजार सार्की’मा समावेश गर्दैछन्। बलात्कार आरोपमा १ वर्ष जेल जीवन बिताएर सफाई पाएका अभिनेता शाहले यस अघि फिल्म ‘मायाव’मा काम गरिसकेका छन्।
यो पुस्तालाई दर्शकले यस अघिका फिल्ममा खासै रुचाएका थिएनन्। प्रदीपको फिल्म ‘प्रकाश’, ‘प्रेम गीत ३’ बक्स अफिसमा असफल बनेको हुन्। उनलाई दर्शकले पत्याउन छोडिसकेको अवस्थामा छ। यता आर्यनका भने कुनै फिल्मले बजार तताउन सकेका थिएनन्।
दर्शकले अभिनेता दयाहाङ राई,मिरुना मगर लगायतको टिमलाई साथ दिइरहेका छन्। यो वर्ष मात्रै दयाका केहि फिल्महरु सुपरहिट भए। बैशाखमा दयाको फिल्म ‘जारी’,‘नाङ्गो गाउँ’,‘दिमाग खराब’ लगायत फिल्म हिट भए भने अन्य कलाकारको फिल्मले गतिलो व्यापार गर्न सकेनन्।
यस्तो अवस्थामा निर्देशक राउतले यी तीनैलाई एक साथ फिल्ममा राखेर जोखिम मोल्ने तयारीमा छन्। प्रेमकथाका फिल्ममा चलेका र त्यसमा पनि गैर–थिएटर पृष्ठभूमिका अभिनेतालाई फिल्ममा राखेर जोखिम मोल्न तयार भएका निर्देशक राउत तिनै जना चलकेटी कलाकारलाई आफ्नो फिल्ममा अनुबन्ध गरेका छन्।
अभिनेत्री रेखा थापाले आफ्नो फिल्म ‘उपहार’मा समावेश गीत ‘वा वा वा’को रिलिजका क्रममा नेपालका अभिनेताहरु एकआपसमा मिल्दैनन् उनीहरु एक अर्कामा झगडा गर्छन् भन्ने भाव व्यक्त गरेकी थिइन्। त्यस कारण आफुले देखेको अभिनेताहरुलाई दर्शकले पत्याउन छाडेर कलाकारलाई नायक बनाएको आरोप लगाएकी थिइन्।
त्यहि भनाईलाई चिर्नका लागि निर्देशक राउतले आर्यन,पल र प्रदीपलाई लिएर नयाँ फिल्म बनाउन लागेको हुन्। उनका अनुसार मेनस्ट्रिमका कलाकार एकापसमा मिल्दैनन् भन्ने भनाईलाई एक हुन्छन् भन्ने कुराको सन्देश दिन आफुले यी तीन नायकलाई जुटाएको हुन्।