सुचना, समाचार र मनोरन्जन
Sarangi

संघीयताको पक्षमा बोल्न जनप्रतिनिधिलाई प्रधानमन्त्रीको आग्रह

ललितपुर महानगरपालिकाको १ सय ५ औं स्थापना दिवसको अवसरमा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले मुलुकमा तीनै तहको सरकारका कारण भएको बिकास सन्तोषजनक भएको र यसमा स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको जिकिर गरे।

काठमाडौं /

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयतामा गएपछि मुलुकमा सन्तोषजनक बिकास भएको बताएका छन्।

ललितपुर महानगरपालिकाको १ सय ५ औं स्थापना दिवसको अवसरमा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले मुलुकमा तीनै तहको सरकारका कारण भएको बिकास सन्तोषजनक भएको र यसमा स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको जिकिर गरे।

उनले स्थानीय तहका जनप्रतिनिधिलाई संघीयताको पक्षमा बोल्न आग्रह गरे। प्रधानमन्त्री दाहालले पूर्वाधार विकास, संस्कृति तथा सम्पदाको संरक्षण, सेवा प्रवाह र सुशासन, शिक्षा, पूर्वाधार क्षेत्रमा स्थानीय तहले गरेका कामबारे जनप्रतिनिधिहरुले जनतालाई जानकारी गराउनुपर्नेमा जोड दिए।

उनले केही गणतन्त्र विरोधी पक्षले नकारात्मकता फैलाइरहेकोले पनि परिवर्तन पक्षधरको भूमिकाका बारेमा जनतालाई जानकार गराउनुपर्ने जिकिर गरे।

प्रधानमन्त्री प्रचण्डले उपत्यकाको फोहोर व्यवस्थापन र खानेपानी समस्याको निराकरणका साथै बाग्मती नदी हस्तक्षेप, तीनकुने हस्तक्षेपमा सरकारले गरेको कामलाई स्वीकार गर्न काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहलाई सुझाव दिए।

त्यसअघि कार्यक्रममा काठमाडौं महानगरका प्रमुख शाहले संघीय सरकारले चाहे तत्काल फोहर व्यवस्थापनका साथै तीनकुने र बागमतीको समस्या समाधान हुने बताए। उनले सरकारले सहयोग नगरेकै कारण महानगरको समस्या समाधान हुन नसकेको आरोप लगाएका थिए।

मेयर शाहले उपत्यकाको सुन्दरतालाई बढाउन उपत्यकाका सबै महानगरपालिकाको विकास एकैपटक हुनुपर्ने बताए। त्यस्तै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरका सम्पदाहरु टेन्डर गरेर निर्माण हुन नसक्ने बताए।

उनले सार्वजनिक खरिद ऐन २०६३ मा भएका कमि कमजोरीका कारण निर्माण कार्य समयमा नै सम्पन्न हुन नसकेकाले महानगरले आफैंले सम्पदाको पूर्ननिर्माण गरेको जिकिर गरे। स्थापना दिवसको अवसरमा ललितपुरले स्वास्थ्य बीमा सुरु गरेको छ।

कार्यक्रममा थापना दिवसको अवसरमा आयोजित रचनात्मक कार्यक्रमका बिजयीहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो भने बिभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो।

Leave A Reply

Your email address will not be published.