काठमाडौं :
कलाकार नवराज श्रेष्ठले चलचित्र निर्देशनमा डेब्यु गर्ने भएका छन्। उनले निर्देशन गर्ने चलचित्रको नाम ‘लुसु’ राखिएको छ। दि पाल्म ग्रुप प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता शेखर लामा रहेका छन्। निर्माताले टिमले चलचित्र निर्माणका लागि गत विहिबार चलचित्र बिकास बोर्डबाट इजाजत समेत प्राप्त गरिसकेका छन्।
पदम बिश्वकर्माको कथा रहेको चलचित्र सामाजिक कथाको रहने छ। नेपाल र अमेरिकामा छायाँकन हुने चलचित्रको यतिबेला प्रि–प्रोडक्सनको काम भइरहेको छ । फागुनबाट चलचित्रको छायाँकन थाल्ने निर्माण पक्षको तयारी छ । चलचित्रको मुख्य कलाकार तथा प्राबिधिकहरु केही दिनमा सार्वजनिक गर्ने निर्देशक श्रेष्ठले जनाएका छन्।
अभिनयबाट संगालेको अनुभव र सिकेको ज्ञानलाई निर्देशनमा सदुपयोग गर्ने श्रेठले जनाएका छन्। उनले चलचित्रको कथा सुन्दा यो कथा आफैले भन्नु पर्छ भन्ने महशुस भएर निर्देशनमा आउन लागेको जनाए । सन् १९९४ को चलचित्र ‘बादल’बाट अभिनय यात्रा शुरु गरेका श्रेष्ठले ‘जन्मभूमी’, ‘गुड लक’, ‘स्काउट’ लगायतका चलचित्रमा अभिनय गरेका छन् । यस्तै थुप्रै म्युजिक भिडियो तथा बिज्ञापनमा पनि श्रेष्ठले अभिनय गरेका छन् ।