काठमाडौं :
फिल्म ‘दिमाग खराब’को सफलतापछि अभिनेत्री स्वस्तिमा खड्का अर्को फिल्मको तयारीमा जुटेकी छन् । उनी आफैले लगानी गर्ने फिल्म ‘बेहुली फ्रम मेघौली’को तयारीमा जुटेकी हुन्।
यो फिल्मको शीर्ष भुमिकामा स्वस्तिमा खड्का आफै हुनेछिन्। उनको साथमा निर्देशक तथा अभिनेता निश्चल बस्नेत,बिजय बराल लगायतको अभिनय हुने बताएको छ। फिल्ममा लेखकको रुपमा स्थापित भएका आकाश बराल र सजन काफ्लेको संयुक्त निर्देशन हुने निर्माण पक्षको भनाई छ। यो फिल्मको लोकेशन हेर्नका लागि स्वस्तिमा लगायतको टिमले चितवन पुगेको छ।
चितवनको मेघौली गाउँमा चैतबाट सुटिङ हुने फिल्ममा सामाजिक कथावस्तु नै दर्शकले पाउने निर्देशक बरालले जानकारी दिएका छन्। निश्चलको ब्यानर ब्ल्याक हर्स पिक्चर र मेघौली फिल्म्सको संयुक्त भेन्चरमा बन्न लागेको फिल्मलाई निर्देशकद्धय आकाश र सजनले लेखेका हुन् । आकाशले यस अघि हिट फिल्म ‘दिमाग खराब’सहित आधा दर्जनभन्दा बढी नेपाली फिल्मको स्क्रिप्ट लेखिसकेका छन् ।