सुचना, समाचार र मनोरन्जन

बूढीगण्डकी जलविद्युत् आयोजना पीपीपी मोडलमा बनाउन प्रस्ताव

काठमाडौँ/

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले १२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनालाई सार्वजनिक निजी साझेदारीमा तत्काल अगाडी बढाउनुपर्ने बताएका छन् ।

Gokarna Karki

गोरखा चेम्बर अफ कमर्सले गोरखामा आयोजना गरेको कृषि, पर्यटन तथा व्यपार प्रवर्द्धन मेलालाई सम्बोधन गर्दै अध्यक्ष मल्लले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया सार्वजनिक निजी साझेदारीमा तत्काल सुरु गर्नुपर्ने बताए ।

अध्यक्ष मल्लले भने, ‘नेपालबाट भारतमा १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्झौता भएको छ, यसलाई कार्यान्व्यन गर्नका लागि पनि बूढीगण्डकी जलविद्युत् आयोजनालाई सार्वजनिक निजी साझेदारीमा अघि बढाउन आवश्यक छ । निजी क्षेत्र लगानीका लागि तयार छ ।’ उनले विद्युत निर्यातबाट विद्यमान व्यापार घाटा कम गर्न सकिने बताए ।

अर्को प्रसंगमा अध्यक्ष मल्लले नेपालको आर्थिक विकासका लागि जलविद्युत्, पर्यटन, कृषि र सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर नीति योजना तर्जुमा हुनुपर्नेमा जोड दिए ।

कृषि लगायतका स्थानीय उत्पादनको बजारीकरण एवम् प्रवर्द्धनका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रवाभकारी समन्वय हुनुपर्ने अध्यक्ष मल्लको भनाइ छ ।

नेपालको जडीबुटीलाई प्रवर्द्धन एवम् प्रशोधन गरी निर्यात गर्नुपर्नेमा उनले जोड दिए । अध्यक्ष मल्लले भने, ‘नेपालमा प्रशोधित जडीबुटीको छिमेकी चीन लगायतका देशमा माग उच्च रहेको छ ।’

मुलुकको अर्थतन्त्र शिथिल हुँदै जाँदा नागरिकको क्रय क्षमता समेत कमजोर हुँदै गएको अध्यक्ष मल्लले बताए । मूल्यवृद्धि नियन्त्रण गरेर नागरिकको दैनिकीलाई सहज बनाउनुपर्नेमा मल्लले जोड दिए ।

Leave A Reply

Your email address will not be published.