सन्तोष बस्याल
पोखरा ।
पोखरामा माघ ९ देखि २० गतेसम्म आहा रारा पोखरा गोल्ड कप हुने भएको छ । “खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्येश्यका साथ सहारा क्लब पोखराद्धारा आयोजित उक्त प्रतियोगिता २३ औं संस्करणको भएको विहिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
प्रतियोगितामा १२ टीमको सहभागिता रहनेछ । जसमा नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मछिन्द्र क्लब, जावलाखेल युथ क्लब, राईजिंग स्टार फुटबल क्लब, नवलपुर, संकटा क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, थ्री स्टार क्लब, सहारा क्लब पोखरा, पारो फुटबल क्लब भुटान, दिल्ली फुटबल क्लब भारत, मनाङ मर्स्याङदी क्लब, जाउलाखेल युथ क्लब,संकटा क्लब रहेका छन् ।
यस प्रतियोगिताको कुल अनुमानित आम्दानी १ करोड ८६ लाख ७५ हजार रुपैयाँ र कुल अनुमानित खर्च १ करोड ४९ लाख ३ हजार रुपैयाँ अनुमान गरिएको छ ।
पर्यटकीय शहर पोखरालाई स्पोर्ट्स हव सिटीको रुपमा विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउनुको साथै पोखरालाई अन्तर्राष्ट्रिय रुपमा परिचित गराउनु प्रतियोगिताको उद्देश्य भएको आयोजक संस्था साहारा क्लबले जानकारी गराएको छ ।
नवप्रतिभावान फुटबल खेलाडीहरुको अन्तर्निहित खेल कौशल प्रदर्शन गर्ने उचित अवसर समेत प्रतियोगिताबाट प्राप्त हुने बताइएको छ ।
२३ वर्ष देखी निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा बचत हुन आएको रकम क्लबबाट संचालित सुर्य बहादुर के.सी. स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने महासचिव रामप्रसाद अधिकारीको हस्ताक्षर रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पोखरा १७ दोविल्लामा साहारा क्लबले २०६१ साल देखि नै आवासिय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण समेत गरि सहारा फुटबल एकेडेमी संचालन गर्दै आएको छ । जसमा हाल चौंथो व्याचको एकेडेमीमा ८ जिल्लाका १४ जना बालकहरु आश्रित छन् । उक्त एकेडेमी संञ्चालनको मुख्य श्रोत नै आहा रारा पोखरा गोल्ड कप रहेको जनाइएको छ ।
“आत्मा साँक्षी राखि मन, वचन र कर्मले सामाजिक सेवा गरौं” भन्ने उद्येश्यका साथ २०५५ सालमा स्थापित सहारा क्लब पोखराले आयोजना गर्ने प्रतियोगिता पोखराको पर्यायवाचीको रुपमा लिने गरिन्छ । यस प्रतियोगितालाई पहिलो संस्करण देखी नै मुख्य प्रायोजकको रुपमा हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ । त्यसै गरि पोखरा महानगरपालिका संरक्षक, सह उप–प्रायोजक पोखरा महानरपालिका वडा. न. ९, रास्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, अखिल नेपाल फुटबल संघ, जिल्ला खेलकुद विकास समिति कास्की, कास्की जिल्ला फुटबल संघ, सहारा यु.के., सहारा क्लब हङकङ, सहारा क्लब अस्ट्रेलिया लगायतले प्रतियोगितालाई सफल पार्न सहयोग गरेका छन् ।