काठमाडौं :
आगामी ११ फागुनबाट नेपालमा रिलिज हुने फिल्म ‘गोर्खा वारियर’ अहिले चार भाषामा डबिङ भईरहेको छ । यो फिल्म नेपाली भाषाको फिल्ममा हिन्दी, अंग्रेजी र कोरियन भर्सन समेत तयार भइरहेको छ।
डबिङ गर्ने काम अहिले अन्तिम चरणमा पुगेको निर्माण पक्षले जानकारी दिएको छ । यसै क्रममा गोर्खा वारियरको हिन्दी संस्करणको स्वरांकन कार्य मुम्बईमा अन्तिम चरणमा पुगेको छ । यो चलचित्रको मुख्य नायक रितेस चाम्सको हिन्दी संस्करणको स्वरांकन भारतका चर्चित डबिङ आर्टिष्ट सचिन गोलेले गरिरहेका छन् । सचिनले यस अघि दक्षिण भारतीय फिल्म केजीएफका लागि अभिनेता यशको हिन्दी संस्करणको स्वरांकन गरेका थिए।
केजीएफको च्याप्टर वान र टु हिन्दी संस्करणमा नायक यशको स्वरांकन सचिन गोलेले गरेका कारण पनि हिन्दी संस्करणको स्वरांकन राम्रो बनेको थियो। तिनै कलाकारले यतिबेला अभिनेता रितेश चाम्सको हिन्दी भाषाको स्वरांकन गरेका छन्। यो फिल्मका निर्देशक मिलन चाम्सका अनुसार फिल्मको डबिङ राम्रो भइरहेको छ। यही फिल्मबाट नायकको रुपमा रितेशले शिर्ष भूमिकामा डेब्यु गरेका हुन् ।
यो फिल्मको हिन्दी संस्करणमा अरु कलाकारको स्वरांकन पनि डिज्नीलगायत विभिन्न हलिउड तथा दक्षिण भारतीय फिल्मको स्वरांकन गर्ने काम भारतीय डबिङ आर्टिष्टको स्वरमा डविङ गर्ने कार्य तिब्रगतिमा भईरहेको निर्देशक चाम्सले बताए। यो फिल्मको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत समेत रहेको छ । यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो ।
हालैमात्र पहिलोपटक बेलायतमा रेड कार्पेट प्रिमियर गरेपछि अन्तराष्ट्रिय जगतमै चर्चा कमाएको नेपाली चलचित्र ‘गोर्खा वारियर’ यही ११ फागुनबाट देशव्यापी रिलिज हुँदैछ । फिल्म गोर्खा वारियरले ‘ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस’ (बाफ्टा) अवार्डका लागि हालै प्रारम्भिक चरणको सूचीमा प्रवेश पाएको छ । यो सँगै गोर्खा वारियर अन्तराष्ट्रिय रुपमै लोकप्रिय हुँदैछ ।
यो फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।सुमन राई, सुस्मिता वाइवा निर्माता रहेको यो फिल्ममा कार्यकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे हुन् भने सहनिर्मातामा सुरेश राई रहेका छन् ।
गोर्खा वारियरमा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ ।
यो फिल्म दोश्रो विश्व युद्ध अन्तर्गत मलायाको युद्धमा गोर्खा सैनिकले बीरताका साथ लडेर हाँसिल गरेको सफलतासँगै उनीहरुको संघर्षको कथा समेटिएको छ । संसारमै शाहसिक भनेर चिनिने गोर्खाली योद्धाको संघर्षमा आधारित गोर्खा वारियरले उनीहरुको युद्धसँगै पारिवारिक कथालाई पर्दामार्फत विश्वका दर्शकमाझ पु¥याउने कथन निर्देशक मिलन चाम्सको रहेको छ ।