काठमाडौं :
फागुन ४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जिग्री’ को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले युटुबमार्फत फिल्मको टिजर रिलिज गरेको हो। करिब १ मिनेट लामो टिजरमा दुई युवाले जीवनमा भोग्नु पर्ने उल्झनलाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ ।
टिजरमा मुख्य पात्र अलावा ‘लुट’ फिल्ममा पाण्डे नामले परिचित सुशील राज पाण्डे देखी थिएटरमा प्रख्यात पशुपति राईसम्मलाई देखाइएको छ । कमेडी–क्राइम–एक्सन–ड्रामाको मिश्रण रहेको यस फिल्मलाई आकाश मगरले निर्देशन गरेका हुन् । फिल्ममा अभय राज बराल, आकाश मगर,सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारी लगायतको अभिनय रहेको छ।
वर्तमान समयको आम नेपाली दुई युवाहरूको कथामा निर्माण भएको यस फिल्ममा युवाहरूले महँगी र अभावमा पिल्सँदै काठमाडौँमा टिकेर बस्नका लागि गरेको संघर्षलाई मुख्य विषय वस्तु बनाइएको छ। सुस्केरा आर्ट्सको प्रस्तुति तथा निर्माण र लोकल सिनेमाको निर्माण सहकार्य रहेको यस फिल्मका कार्यकारी निर्माता कुसुम थापा मगर हुन् भने निर्माता कुमार श्रेष्ठ हुन्।
फिल्मको छायाङ्कन सुमित भट्ट र सोमित माझी, सम्पादन र कलर सरुन मानन्धर, ध्वनि परिकल्पना र मिश्रण किशोर आचार्य, प्रोडक्सन डिजाइन आकी थेक्पा, सङ्गीत सुवास पौडेल र भास्कर स्वाँरको छ। यस फिल्ममा कास्टिङ निर्देशक केदार श्रेष्ठ हुन् भने भिएफएक्स लुज राजभण्डारीको छ । फिल्मको वितरण सुस्केरा आर्ट्सले गर्नेछ ।