काठमाडौं :
अभिनेत्री बेनिशा हमाल बलिउड फिल्ममा देखिने भएकी छन्। बेनिशाले फेसबुकमार्फत् आफूले पहिलोपटक हिन्दी फिल्ममा काम गर्न लागेको जानकारी दिएकी हुन्।
बेनिशाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘भ्वाइस मोडुलेसन, डिक्शन र फ्लोमा महिनौं काम गरेपछि म आफ्नो पहिलो हिन्दी फिल्मका लागि पूर्ण रुपमा तयार छु ।’ उनी अहिले फिल्मको छायांकनका लागि भारतको पिथौरागढस्थित पञ्चाचुली क्षेत्रमा छिन्।
उनले सेयर गरेको एउटा तस्वीरमा हिउँमा ‘दुर्गम’ लेखिएको छ, जुन फिल्मको शीर्षक हुनसक्ने बुझिन्छ । उनले भारतीय कलाकार गोदान कुमारसँगको एक तस्वीर पनि खिचाएकी छन् ।
गोदामले यस अघि ‘धडक’, ‘लाल कप्तान’ जस्ता फिल्ममा काम गरिसकेका छन्। फिल्म ‘सिटामोल’को सुटिङ सकेपछि उनी भारत प्रस्थान गरेकी थिइन्। उनी अभिनित फिल्म ‘उपहार’ यही फागुन २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ। यस अघि मनिषा कोइराला, सुनिल थापा, भोलाराज सापकोटा, झरना बज्रचार्य लगायतले हिन्दी फिल्ममा काम गरिसकेका छन् ।