सुचना, समाचार र मनोरन्जन

डम्बर यक्सोको ‘मेरा मनका अव्यक्त भाबहरु’ लोकार्पण

काठमाडौं :

कवि तथा गीतकार डम्बर यक्सोको कविता संग्रह ‘मेरा मनका अव्यक्त भाबहरु’ लोकार्पण गरिएको छ । ललितपुर को युङ्चा हिम रेस्टुरेन्टमा एक विशेष समारोहबीच प्रमुख अतिथि कवि तथा साहित्यकार प्राज्ञ श्रवण मुकारुङ्द्वारा पानसमा वत्ती बालेर उक्त कृति लोकार्पण गरिएको हो।
कृतिको लोकार्पणपछि प्राज्ञ मुकारुङले कवि तथा गीतकार यक्सोको कविताका बारेमा चर्चा गरेका थिए। उनले पहिलाबाट नै गीत तथा कविता संग्रह निकाल्नुपर्नेमा जोड दिए।

प्रमुख अतिथि मुकारुङले भने,‘डम्बर यक्सो लिम्बूज्यूको ‘मेरा मनका अव्यक्त भावहरू’ कृतिभित्रका रचना दुरुह र जटिल छैनन्। यी सरल, सुन्दर, सटिक र वोधगम्य छन्। जसले स्वयं पाठकसित सिधै संवाद गर्ने क्षमता राख्दछन्।’

उनले कृतिको बारेमा थप चर्चा गर्दै भने,‘यस कृतीले मानिसको जीवन, दुःख र संघर्षको बहुआयामलाई चित्रण गरेको छ । बुद्धले मानिसको जीवनमा दुःख छ । दुःखको कारण छ । त्यसको निवारण पनि छ, र निवारणमा पुग्ने बाटो छ।’

कवि डम्बर यक्सोको सिर्जनाले चाहिँ अथक संघर्षले नै दुःखलाई पराजित गर्न सकिने कुरामा सङ्केत गरेको बताए। संघर्ष नै जीवन हो भन्ने निष्कर्ष कृति मार्फत आफुले पाएको उनले तर्क गरे। यस कृतिको समिक्षा कवि तथा गीतकार गोपी कृष्ण प्रसाईले गरेका थिए। उनले कवितामा देशभाव र आफ्नो गाउँठाउँलाई समेटेर सुन्दर तरिकाले लेखेको भन्दै कृति र लेखकको चर्चा गरे।

लोकार्पण कार्यक्रममा वरिष्ठ संगीतकार प्राज्ञ शान्तीराम राई,संगीतकार दिनेश काजि बान्तवा,साहित्यकार प्राज्ञ लक्ष्मी उपेती र याक्थुङ चुम्लुङका प्रतिनिधि क्याप्टेन टंक बहादुर चोबेगुले कृतिमाथी थप चर्चा गरेका थिए। उनीहरुले कृतिको सफलताको शुभमकामना दिदै आगामी दिनमा कलम चलाइराख्न लेखकलाई सुझाव दिए।

कार्यक्रममा कृतिका सर्जक यक्सोले रचना गरेको गीतको समेत भिडियो रिलिज गरिएको थियो। ‘मलाई नछोड’बोलको गीत उपस्थित दर्शकमाझ देखाइएको थियो। भिडियोमा यस कृतिकै सर्जक सुस्मिता यक्सो लगायतले अभिनय गरेका थिए। जीवन मुकारुङले संयोजन गरेको यस कार्यक्रममा चर्चित गायक दीपक लिम्बू लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सुस्मिता यक्सो कन्दङ्वाले सञ्चालन गरेकी थिइन्।

Leave A Reply

Your email address will not be published.