सुचना, समाचार र मनोरन्जन
Sarangi

प्रदर्शन मिति नजिकिदै गर्दा ‘पूजार सार्की’को कथालाई लिएर दलित आयोगको चासो

काठमाडौं:

फिल्म ‘पुजार सार्की’को कथालाई लिएर दलित आयोगले निर्माण पक्षसँग चासो राखेको छ। शुक्रबार फिल्मका निर्माण टिमप्रति राष्ट्रिय दलित आयोगका सदस्यहरु भेट गरेका हुन्। ललितपुरको कुपण्डलोस्थित आयोगको कार्यालयमा आयोगका अध्यक्षदेखि सदस्यसम्मले भेट गर्दै फिल्मको कथाका बारेमा सोधखोज गरेका हुन्।

उनीहरुको सँगको भेटका लागि अभिनेत्री द्वय अञ्जना बराइली र परीक्षा लिम्बू तथा लेखक विकास सुवेदीको कार्यक्रममा उपस्थिति भएका थिए। भेटमा लेखक सुवेदीले आयोगलाई फिल्मको कथावस्तुबारे जानकारी दिँदै ’ आफूले देखेको घटनामा आधारितमा फिल्म निर्माण भएको बताए।

लेखक सुवेदीले भने,‘मैले आफ्नो गाउँ ठाउँमा देखेको घटनामा चलचित्र लेखेको हुँ। फिल्ममा उल्लेखित केही घटनालाई प्रगतिशील विचार राख्नेहरूले समेत मुर्ख्याइँको रूपमा लिने गरेका छन्, जुन कुरा बाहिर आउन जरुरी छ।’

उनले थपे,‘कमर्सियल कलाकारहरू र प्रस्तुतिसहित फिल्ममार्फत जात भन्ने चीज नै मानवीय दृष्टिमा स्वीकार्य हुँदैन भन्ने कुरा स्थापित गर्न खोजेका हौँ । तत्कालीन राजा महेन्द्रले मुलुकी ऐन अन्त्य गरेर छुवाछुत जघन्य अपराध हो भन्ने स्वीकार गरेका थिए। त्यो दिनदेखि २०४६ सालको ५६ दिनको आन्दोलनको पेरिफेरिमा फिल्मको कथा बोल्छ।’

यता अभिनेत्री अञ्जना बराइलीले आफू पनि दलित समुदायबाट प्रतिनिधित्व गर्ने भएकाले बच्चैदेखि विभेद देखेको स्मरण गरिन्। त्यसैले फिल्मको कथा सुनेपछि काम गर्न उत्साहित भएको बताईन्। अभिनेत्री परीक्षालाई भने सुरुमा यस्तो कथामा अझै पनि फिल्म बनाउन जरुरी छ र ? भन्ने लागेको र पछि काम गरेको बताईन्।

‘जुन समुदाय र स्थानमा म हुर्किएँ, त्यहाँबाट हेर्दा अझै पनि यस्तो कथामा चलचित्र बनाउन जरुरी छ र ? भन्ने लागेको थियो,’उनले कुराकानीमा भनिन्,‘जातीय विभेद त अब सकिसक्यो, यस्तो कथामा पनि चलचित्र बनाउनुपर्छ र भन्ने भएको थियो। जब फिल्मको कथा सुनेँ र जहाँ छायाङ्कन भयो, त्यहाँको परिस्थितिले मलाई अचम्मित बनायो। त्यहाँ धेरै कुरा देख्ने र बुझ्ने मौका पाएँ।’

दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले कलाकारहरुको कुरा सुनेपछि जातीय विभेद अन्त्य गर्ने उद्देश्यले ’पूजार सार्की’ निर्माण भएको रहेछ भन्दै निर्माण टिमलाई धन्यवाद दिए।

उनले भने,‘जातीय विभेदको विषय १४ प्रतिशत दलित समुदायको मात्र होइन, यसले हाम्रो देशको अर्थतन्त्रमै गम्भीर असर पारेको छ। यो कुराको अन्त्यका लागि फिल्म बनाएर जुन कदम चालिएको छ, त्यसका लागि सम्मान छ।’

दिनेश राउतको निर्देशनमा तयार भएको यस फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय छ। ‘पूजार सार्की’ आगामी जेठ १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ।

Leave A Reply

Your email address will not be published.