सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

जापानकी विदेशमन्त्री योको काठमाडाैंमा

काठमाडौं /

जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि काठमाडौं आएकी छन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेकी थिइन्। उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेश मन्त्री खामिखावा नेपाल भ्रमणमा आएकी हुन्। जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो।

भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठले उहाँको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन्। विदेशमन्त्री खामिखावा भ्रमण सम्पन्न गरी आजै राति नेपाल वायु सेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्ने कार्यक्रम छ।

जापान नेपालको समृद्धिका लागि निरन्तर सहयोग गर्ने मुलुकको सूचीमा अग्रस्थानमा छ। नेपाल र जापानबीचको सम्बन्ध सरकारी तहमा मात्र नभई जनस्तरमा पनि सुमधुर छ। हाल जापानमा एक लाख ६३ हजार नेपाली नागरिक अध्ययन, रोजगारी र व्यापार–व्यवसायको सिलसिलामा रहेका बताइएको छ।

नेपाल-जापान सम्बन्ध :

IVF Big

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध सन् १९५६ सेप्टेम्बर १ मा स्थापना भएको हो। दुई देशबीचको सांस्कृतिक, सामाजिक, धार्मिक र जनस्तरको सम्बन्ध भने एक सय २५ वर्ष पुरानो हो। सन् १८९९ मै जापानका बौद्धभिक्षु इकाइ कावागुची बौद्ध ग्रन्थ र धर्मको अनुसन्धान गर्ने सिलसिलामा नेपाल आएका थिए।

नेपालबाट सन् १९०२ मा आठ जना नेपाली विद्यार्थी उच्च शिक्षाका लागि जापान गएका थिए। जापान-नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको नौ वर्षपछि सन् १९६५ मा नेपालले टोकियोमा राजदूतावास स्थापना गरेर कूटनीतिक माध्यमबाट आपसी सम्बन्धलाई अझ घनीभूत बनायो। त्यसको तीन वर्षपछि जापानले नेपालमा राजदूतावास खोलेको हो।

नेपालको शिक्षा, स्वास्थ्य, सञ्चार, कृषि, पूर्वाधार, ऊर्जा, नागरिक उड्डयनलगायत क्षेत्रमा सहयोग गर्दै आएको छ। सिन्धुली-बर्दिवास सडकदेखि नागढुंगा-सिस्नेखोला सुरुङमार्गमा पनि जापानले सहयोग गरेको छ।

जापानका लागि नेपाली राजदूत डा। दुर्गाबहादुर सुवेदी भन्छन “नेपालको कुनै त्यस्तो क्षेत्र छैन, जहाँ जापानी सहयोगले नछोएको होस्। नेपालको आर्थिक-समाजिक विकासमा केन्द्रित भएर जापानले सहयोग गरिरहेको छ।”

जापानी नागरिक नेपाल आएर यहाँको धर्म, संस्कृति, कला, संगीत र प्रकृतिको अध्ययन गरिरहेको छन् भने केही नेपाली पनि जापानका विभिन्न क्षेत्रमा महत्वपूर्ण ओहोदामा रहेर काम गरिरहेका छन्।

राष्ट्रिय ध्वजा वाहक विमान नेपाल एयरलाइन्सले जापानमा नियमित उडान गरेर भौगोलिक दू्री कम गर्दै सम्पर्क विस्तारमा सेतुको काम गरेको छ। दुई देशबीचको सम्बन्ध विस्तारमा जापानमा रहेको नेपाली समाजले महत्वपूर्ण भूमिका निर्वाह गरेका राजदूत सुवेदी बताउँछन्।

जापानका परराष्ट्रमन्त्रीको यो भ्रमणले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ तुल्याउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.