सुचना, समाचार र मनोरन्जन
Sarangi

विश्व बैङ्कको आर्थिक सहयोगमा तेस्रो सडक स्तरोन्नति परियोजना सम्झौता

पोखरा/
विश्व बैङ्कको आर्थिक सहयोगमा निर्माण हुने तेस्रो परियोजना दोविल्ला–बाघमारा–तिक्लाङ्–बडहर कोट–लामगाडी–चापलाङ–उपल्लो पुडिँटार–तल्लो पुँडीटार–झिगटे (जनजागृती मा वि) तगारेगौडा–तल्लो गगनगौडाँ सडक स्तरोन्नतिका लागि सम्झौता भएको छ । सडकको स्तरोन्नतिका लागि पोखरा महानगरपालिका र निर्माण कम्पनी आसिस निर्माण सेवा प्रा.ली भरतपुरसँग सम्झौता भएको हो । ३९० दिनमा निर्माण सम्पन्न गर्ने गरी पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा र निर्माण कम्पनीका प्रतिनिधि बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

विश्व बैङ्कको ७७ करोड ६८ लाख ९२ हजार ८३७ रुपैयाँ लागत सहयोगमा निर्माण हुने सडकको सेक्सन एक र दुई गरी दुई वटा खण्डमा काम हुनेछ । सडकको पहिलो सेक्सनमा वडा नं.३३ को कार्यालयदेखि उपल्लो पुँडीटारसम्म ९.६२७ कि.मी र दोस्रो सेक्सनमा पहिलो सेक्सनको जक्सनदेखी तल्लो गगनगौडाँ (पृथ्वीराज मार्ग) सम्म २.८१३ कि.मी सडक निर्माण हुनेछ । परियोजना अन्तरगत करिब १२.४४ कि.मी सुविधा सम्पन्न सडक निर्माण हुनेछ । ७ मिटर चौडाइको सडक अस्फाल्ट पिच हुनेछ । सडकको दायाँबायाँ ड्रेन सहितको २/२ मिटरको फुट ट्र्याक हुनेछ । सम्झौता पश्चात् परियोजनाको जोइन्ट सर्वेको काम सुरु भइसकेको छ । अबको केही दिनमा फिल्डमा काम सुरु हुनेछ । सडक स्तरोन्नति कार्य तोकिएको समयमा सम्पन्न गर्न र निर्माणमा गुणस्तर कायम गर्न निर्माण कम्पनीलाई प्रमुख प्रशासकीय अधिकृत श्याम कृष्ण थापाले निर्देशन दिए ।

यसअघि विश्व बैङ्कका दक्षिण एसिया क्षेत्र हेर्ने प्रमुख समेतको उपस्थितिमा परियोजनाको स्थलगत अवलोकन गरिएको थियो । सो क्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सडकको स्तरोन्नतिका लागि परियोजना छनौटको प्राथामिकीकरणमा जोड दिनुभएको थियो । रु.३ अरब आर्थिक सहायता मध्ये ताल चोक बेगनास सडकको लगानीबाट बचेको रकम परिचालनका सम्बन्धमा विश्व बैङ्कले परियोजना प्रस्ताव गर्न आग्रह गरे बमोजिम प्रमुख आचार्यले उक्त सडक स्तरोन्नतिलाई प्राथमिकतामा राख्नु भएको हो । यसका अलवा विश्व बैङ्क कै सहयोगमा शिशुवा–शिशाघाट सडकको समेत काम थालिएको छ ।

हाल पोखरामा विश्व बैङ्कको आर्थिक सहयोगमा ताल चोक बेगनास सडक निर्माण र शिशुवा–शिशाघाट सडक निर्माण परियोजना सञ्चालनमा रहेको छ । थप परियोजनाको रूपमा दोविल्ला–बाधमारा–तिक्लाङ्–बडहर कोट–लामगाडी–चापलाङ–उपल्लो पुडिँटार–तल्लो पुँडीटार–झिगटे (जनजागृती मा वि) तगारेगौडा–तल्लो गगनगौडाँ सडक स्तरोन्नति गर्न लागिएको हो । दोविल्लादेखि वडा कार्यालय सम्मको बाटो सडक विभागले निर्माण गरिरहेको छ भने, तीनकुनेदेखि दोविल्ला पुलसम्मको बाटो भने प्रदेश सरकारको लगानी निर्माण भइरहेको छ । यसका लागि पनि महानगरपालिकाले विशेष पहल गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.