सुचना, समाचार र मनोरन्जन
Sarangi

नेपालको साक्षरता दर ७७.४ प्रतिशत पुग्यो

काठमाडौं/

नेपालको साक्षरता दर ७७.४ प्रतिशत पुगेको छ । नेपाल जीवनस्तर सर्वेक्षण २०२२/२३ ले नेपालको साक्षरता दर ७७ प्रतिशत नाघेको देखाएको छ । यसअघि राष्ट्रिय जनगणना २०७८ ले साक्षरता दर ७६.३ प्रतिशत पुगेको देखाएको थियो । यो ५ वर्ष सोभन्दा बढी उमेरका कुल जनसंख्याको साक्षरता दर हो ।

साक्षरतामा महिलाको तुलनामा पुरुषको साक्षरता दर माथि देखिन्छ । पुरुषको साक्षरता दर ८५.८ प्रतिशत र महिलाको साक्षरता दर ७०.१ प्रतिशत रहेको छ ।

१५ वर्ष र सोभन्दा माथिको साक्षरता दर भने ७२.५ प्रतिशत रहेको छ । जसमा महिलाको साक्षरता दर ६४.१ प्रतिशत र पुरुषको साक्षरता दर ८२.९ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।

१५ वर्ष र सोभन्दा माथिका जनसंख्यामा सन् २०१०/११ को जीवनस्तर सर्वेक्षणले ५६.५ प्रतिशत मात्र साक्षरता दर रहेको देखाएको थियो । सन् १९९५/९६ मा गरिएको पहिलो जीवनस्तर सर्वेक्षणले यो उमेर समूहको साक्षरता दर ३५.६ प्रतिशत देखाएको थियो ।

५ वर्ष र सोभन्दा माथिको साक्षरता दरलाई प्रदेशगत रुपमा हेर्दा सबैभन्दा धेरै साक्षरता गण्डकी प्रदेशमा रहेको छ । सबैभन्दा कम मधेश प्रदेशमा रहेको छ । गण्डकीमा ८३.४ प्रतिशत साक्षरता रहेको छ । मधेशको साक्षरता दर ६८.३ प्रतिशत रहेको छ । महिला साक्षरता दर सबैभन्दा धेरै बागमतीमा देखिन्छ । यस प्रदेशमा ७६.८ प्रतिशत महिला साक्षरता दर रहेको छ । सबैभन्दा कम मधेश प्रदेशमा रहेको छ । यस प्रदेशको साक्षरता दर ५९.९ प्रतिशत रहेको छ । पुरुषमा सबैभन्दा धेरै साक्षरता दर गण्डकी प्रदेशमा रहेको छ । यस प्रदेशमा पुरुषको साक्षरता दर ९१.३ प्रतिशत पुगेको छ । सबैभन्दा कम साक्षरता दर मधेश प्रदेशमा ७७.९ प्रतिशत रहेको छ ।

Leave A Reply

Your email address will not be published.