सुचना, समाचार र मनोरन्जन
Sarangi

मनसुन प्रतिकार्य टोली सबै प्रदेशमा तयारी अवस्थामा

काठमाडौ/

मनसुनको बेला बाढी, पहिरो, डुवान एवम् विपदमा परेकाको तत्कालै उद्धारको लागि सबै प्रदेशमा मनसुन प्रतिकार्य टोली तयारी अवस्थामा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार देशभर स्थापना भएका राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र, प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्र, जिल्ला आपत्कालीन सञ्चालन केन्द्रमा तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारी खटिई आवश्यक समन्वयका साथ काम हुनेछ ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले ९१ जना गोताखोरलाई आवश्यक उपकरणसहित सात वटै प्रदेशमा रहेका बाहिनी मुख्यालय तथा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, काठमाण्डौ उपत्यकाको नम्बर २० विपद् उद्धार गण सिनामंगल, नम्बर २४ कालिका गण कास्की, सिन्धुलीको खुर्काट बेसमा तैनाथ गरिएको जानकारी दिनुभएको छ ।

यसैगरी विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिसहित धनकुटाको मुलघाट, बाराको निजगढ, धादिङको आदमघाट, सिन्धुलीको खुर्कोट, मकवानपुरको कुलेखानी, म्याग्दीको नारच्याङ, दाङको भालुवाङ, सुर्खेतको चिप्ले र डडेलधुराको अमरगढीमा गरी नौ वटा विपद् व्यवस्थापन बेस स्थापना गरिएको छ ।

यसका साथै विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिलाई सातै वटा प्रदेशमा रहेका बाहिनी मुख्यालय, उपत्यकामा रहेका नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय, १० वटा शिक्षालय, सबै गणमा समान एक प्लाटुन र गुल्म वा त्योभन्दा साना युनिटमा एक सेक्सनको दरले आवश्यक स्रोतसाधनसहित तैनाथ गरिएको पनि सशस्त्र प्रहरीले जनाएको छ ।

यसैगरी झापा, सप्तरी, बारा, चितवन, रुपन्देही, बाँके, कैलाली, भक्तपुर, मकवानपुर र तनहुँमा रहेका १० वटा सशस्त्र प्रहरी बल नेपालका इमिडियट रेस्पोन्स टिम पोस्ट तथा सबै प्रदेशमा रहेका १३ वटा हेभी इक्यूपमेन्टलाईसमेत तयारी अवस्थामा राखिएको छ ।

Leave A Reply

Your email address will not be published.