काठमाडौं :
पोखरा महानगरपालिका वडा नम्बर १५ को आयोजनामा दोस्रो संस्करणको असारे महोत्सव मनाइएको छ। शनिबार वडा न.१५ को फलेपाटन स्थित करिब ४ रोपनी क्षेत्रफलमा रोपाइँ महोत्सव मनाइएको हो। उक्त महोत्सवमा वडाका आमा समूह,टोल विकास, कृषक,कलाकार लगायत स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो।
महोत्सवमा पुरानै धान रोप्दाको चलनलाई उपस्थित आमा समूहले चलाएका थिए। उनीहरुबिच रसी तान्ने र छिटो धान रोप्ने प्रतियोगिता गर्दै रमाइलो गरिएको थियो। सोही प्रतियोगीतामा विजयी हुने समूहलाई वडाध्यक्ष तोरण बानियाँले नगद राशी सहित पुरस्कार प्रदान गरेका थिए।
असारे महोत्सवमा चर्चित गायिका सीता केसी र नेत्र खड्काले आफ्नो साङ्गीतिक प्रस्तुति दिएका थिए। उनीहरुले उपस्थित सबैलाई मनोरञ्जन दिएका थिए। उनीहरुको मनोरञ्जनले कार्यक्रम थप रमाइलो भएको थियो। महोत्सवकी प्रमुख अतिथि तथा पोखरा महानगरपालिकाकी उपमेयर मंजुदेवी गुरुङले रोपाइँ दिवसको शुभकामना व्यक्त गर्दै आगामी दिनमा यस्ता कार्यक्रम गर्नुपर्नेमा जोड दिइन्।
उनले यस किसिमको महोत्सवको आयोजना गरेर लोक संस्कार संस्कृति र कृषि कर्मको बारेमा नयाँ पुस्ता हस्तान्तरण गरेकोमा खुसी व्यक्त गरिन्। उनले किसानहरूको सिँचाइ, मल, बिउ लगायतका अभावहरूकाबीच कृषि पेसालाई निरन्तरता दिइरहेको बताउँदै समस्याहरूको समाधानका लागि महानगर लागि परेको बताईन् । सोही कार्यक्रममा उनले कृषकका समस्या समाधान गर्न कृषि शाखा र वडाहरू सधैँ किसानको साथमा रहेको भनाई राखिन्।
कार्यक्रमका लागि निकै समय खर्चिएकी उपमेयरले यस वर्ष पनि कृषि एम्बुलेन्स र महानगरमा उत्पादन भएका बालीहरूको न्यूनतम समर्थन मूल्य तोक्ने जस्ता राम्रा कामलाई निरन्तरता दिने बताईन्। उनका भनाई अनुसार किसानका पक्षमा अन्य राम्रा कार्यक्रमहरू समेत महानगरपालिकाले ल्याइने दाबी गरिन्। यता वडाध्यक्ष तोरण बानियाँले पनि कृषकहरूको हौसला बढाउन यस वर्ष पनि रोपाइँ महोत्सवको आयोजना गरिएको जानकारी दिए। उनले महोत्सवलाई सफल बनाउन सहयोग गर्ने आमा समूह, टोल विकास सबैलाई धन्यवाद दिए।