सुचना, समाचार र मनोरन्जन
Sarangi

वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमा उद्यम गरिरहेका ८ उद्यमी पुरस्कृत

काठमाडौँ/

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केर मुलुकमा नै उद्यम गरी रहेका ८ जना उद्यमीलाई पुरस्कृत गरेको छ । आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रमबिच उत्कृष्ट उद्यमीलाई मन्त्रालयले नगद पुरस्कारसहित सम्मान गरेको हो ।

वैदेशिक रोजगारीबाट फर्केका युवालाई मुलुकमा नै रोजगारीका अवसरहरू सृजना गर्न प्रेरित गर्नका लागि मन्त्रालयले प्रत्येक वर्ष वैदेशिक रोजगारबाट फर्की नेपालमा उद्यम गरेका उद्यमीहरूलाई पुरस्कृत तथा सम्मान गर्दै आएको छ ।

राष्ट्रिय सम्मान तथा पुरस्कारको लागि उद्यमीलाई सार्वजनिक रूपमा नै आवेदनको माग गरिएको थियो । इमेलमार्फत ८९ जना उद्यमीले पुरस्कारको लागि आवेदन दिएका थिए ।

विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि २०७६ बमोजिमको पुरस्कार सिफारिस समितिले उद्यमीको स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणबाट प्राप्त प्रतिवेदनहरूको आधारमा सम्भव भएसम्मका सातवटै प्रदेशको प्रतिनिधित्व कायम गर्ने गरी ८ जना उद्यमी राष्ट्रिय पुरस्कार वितरण गरिएको हो ।

झापाका चन्द्रप्रसाद बस्नेतलाई उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । उनलाई नगद एक लाख ५० हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको हो ।

त्यस्तै गुल्मीका रविलाल पन्थ, झापाका मोहन प्रसाद संग्रौला, जुम्लाका टक्क बहादुर नेपाली, कञ्चनपुरका चन्द्र सिंह थापा, नुवाकोटका अर्जुन परियार, म्याग्दीका भूपेन्द्र शर्मा र बाराका हिराबहादुर थापालाई उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । पुरस्कार बापत ७५ हजार रुपैयाँ नगद प्रदान गरिएको छ ।

उद्यमीलाई सम्मान गर्दै श्रममन्त्री डोलप्रसाद अर्यालले एक पटक वैदेशिक रोजगारीमा गएर फर्केका युवालाई मुलुक भित्रै रहने वातावरण बनाउनु अहिलेको आवश्यकता भएको बताए ।

Leave A Reply

Your email address will not be published.