काठमाडौ /
नेपालमा मनसुन भित्रिएको २५ दिनमा विपद्जन्य घटनामा परेर ४७ जनाको ज्यान गएको छ । विपद्जन्य घटनाबाट ८ करोड रुपैयाँभन्दा धेरैको क्षति भएको छ । यस्तै २५ दिनमा ४६ वटा भौतिक संरचना बाढी र पहिरोका कारण ध्वस्त भएका छन् । यही अवधिमा २ सय ५९ वटा पशुचौपाया मरेका छन् भने ४ सय वटा जलवायुजन्य घटना भएका छन् ।
जलवायु विज्ञ डाक्टर धर्मराज उप्रेतीले अबकाे तीन महिनाभित्र नेपालमा विपद्बाट ठूलो नोक्सानी हुने देखिएको बताए। नेपालमा गएको जेठ २८ गतेदेखि यो वर्षको मनसुन भित्रिएको थियो।
आउँदो आइतवारसम्म ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउनुपर्ने जलवायु विज्ञ डा. उप्रेतीको सुझाव छ । उनले मनसुनको न्यून चापीय रेखा नेपालमा रहेकाले अब भारी वर्षा हुने बताए । उनले साउन, भदौ र असोजमा भारी वर्षा हुने हुँदा त्यसले निम्त्याउन सक्ने जोखिम न्यूनीकरणका लागि सङ्घ, प्रदेश र पालिकाले समयमा नै ध्यान दिनुपर्ने बताए ।
विज्ञ उप्रेतीले असारमा औसतभन्दा कम पानी पर्दा नै ठूलो क्षति भइसकेको भन्दै आउँदो तीन महिनामा हुने क्षतिको भार नेपालले व्यहोर्न नसक्ने उल्लेख गर्नुभयाे । उनले समयमा नै सरकारले विशेष ध्यान दिन र सतर्कता अपनाउन नसके विपद्बाट ठूलो क्षति हुने निश्चित रहेको बताए।
नदी किनारमा भएका बस्ती, भौतिक संरचना, विद्युतीय संरचना, विद्यालय, खानेपानी, कृषि सबैमा विपद्को प्रभाव बढेको उप्रेतीले बताए । उनले विपद्अघि नै सम्भावित क्षेत्रको पहिचान गरी त्यहाँका स्थानीयलाई सचेत गराउन आवश्यक रहेकोमा जोड दिएका छन ।
विज्ञ उप्रेतीले पछिल्ला केही दिनयता पानी पर्ने तरिकामा पनि परिवर्तन भइरहेको बताए । उनले एकै ठाउँमा मुसलधारे पानी पर्ने र नजिकै सुक्खाको अवस्था रहेको पनि उल्लेख गरे । निर्माण क्षेत्रले आउँदा दिनमा जलवायुमैत्री भौतिक संरचना निर्माण नगर्ने हो भने विपद्को क्षति झनै धेरै बढ्ने विज्ञ उप्रेतीको भनाइ छ ।