सुचना, समाचार र मनोरन्जन
Sarangi

पहिरोले अवरुद्ध बेनी–दरबाङ सडक ३ दिनपछि खुल्यो

म्याग्दी/

पहिराका कारण अवरुद्ध बनेको म्याग्दीको बेनी–दरबाङ सडक ३ दिनपछि सञ्चालनमा आएको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने फापरखेतमा गत शुक्रबार पहिरो जाँदा सडक अवरुद्ध बनेको थियो ।

पहिरोले सडक बगाएपछि २४ किलोमिटर दूरीमा पर्ने जिल्लाको पश्चिमी भेग धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने उक्त खण्डमा आवतजावत पूर्ण रुपमा बन्द भएको थियो । बांगे भिर, घुमाउने भिर र तोराखेतमा गएको पहिरोले सडक अवरुद्ध भएको थियो ।

पहिरो गएको ठाउँमा ग्यावीयन पर्खाल र नयाँ ट्र्याक खनेर सडक मर्मत गरेपछि आजदेखि नियमित सञ्चालनमा आएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा आवतजावत, निर्माण र खाद्यान्न सामग्री ढुवानीका साथै बिरामीलाई अस्पताल पुर्‍याउन समस्या भएको थियो ।

यसैबीच बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेत खण्डमा पर्ने बेनी–दरबाङ सडकको वैकल्पिक मार्ग खोजिनुपर्ने म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले जोड दिए । भौतिक पूर्वाधार मन्त्रालयसहित सरोकार भएकासँग पहिरोको समस्यालाई दीर्घकालीन समाधान गर्न छलफल भइरहेको उनले बताए ।

Leave A Reply

Your email address will not be published.