सुचना, समाचार र मनोरन्जन
Sarangi

‘मोदीबेनी’को ‘मन्जुरी’गीतमा रोमान्टिक वर्षा र अमर,उत्साहित रेजिना

काठमाडौं:

श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’को पहिलो गीत सार्वजनिक भएको छ। काठमाडौंको सिभिल मलस्थित क्युएफएक्स सिनेमा हलमा पत्रकार भेटघाटको आयोजना गर्दै ‘मन्जुरी’ शीर्षकको सार्वजनिक गरिएको हो।

ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत रिलिज भएको गीतमा फिल्मका मुख्य अभिनेत्री वर्षा शिवाकोटी र अमर प्रताव श्रेष्ठलाई रोमान्टिक भुमिका हेर्न सकिन्छ।

‘मोदीबेनी’को एक महत्त्वपूर्ण अंशको रूपमा रहेको गीतले वर्षा र अमरको प्रेम अङ्कुरण देखिको यात्रालाई चर्चा गरेको छ। त्यसैले होला अभिनेत्री वर्षा सिवाकोटी र नव अभिनेता अमर प्रताप श्रेष्ठ गीत सार्वजनिक कार्यक्रमको केन्द्र बनेका थिए। सिवाकोटी र श्रेष्ठले किरण थापाले कोरियोग्राफी गरेको यस गीतमा सुन्दर अभिनय गरेका छन्। एसडी योगी र विज्ञान पराजुलीको आवाजमा रहेको यो गीतको सङ्गीत एसडीले नै गरेका छन् भने राम अविरल बिस्टले शब्द रचना गरेका छन्। सङ्गीत निर्माता रिकेश गुरुङ हुन्।

गीतको भिडियोमा उत्सव दाहालको छायाङ्कन र भरत रेग्मीको सम्पादन रहेको छ। नव अभिनेता श्रेष्ठले आफ्नो अभिनयको पहिलो पाइलामा नै सशक्त टिमसँग काम गर्न पाउँदा खुसी व्यक्त गरे।

उनले भने,‘यो मेरो पहिलो प्रयास हो। मलाई यहाँहरूको साथको जरुरत छ। पछिल्लो समय नेपाली चलचित्रमा धेरै नयाँ अनुहारहरूको प्रवेश भइरहेको छ, त्यो मध्ये एक बनेको छु। कला सहितको अभिनेता बन्ने सपना पछ्याउँदै मोदीबेनी मार्फत डेब्यु गरेको छु।’
निकै उत्साहित रहेको उनले थपे,‘म आम दर्शकको चाहना अनुसारको प्याकेज अभिनेता बन्न चाहन्छु। मेरो पहिलो फिल्ममा नै किरण थापा जस्तो कोरियोग्राफर पाउनु अहोभाग्य हो। को–एक्टरको रूपमा वर्षा सिवाकोटी जस्तो अनुभवी नायिकासँग अभिनय गर्न पाउँदा धेरै कुरा सिक्न पाएको छु।’

उनले कार्यक्रममा फिल्मका निर्देशक तथा निर्माण टिमलाई समेत शुभकामना दिएका छन्।
‘मलाई विश्वास गरेर आफ्नो पनि पहिलो फिल्म हुँदा हुँदै पनि मलाई डेब्यु गराउने निर्देशक शङ्कर कोइराला, पहिलो फिल्म बनाइरहेको समयमा पनि मलाई विश्वास गरेर लगानी गर्ने निर्माताहरू दिलीप केसी र हरि श्रेष्ठलाई विशेष धन्यवाद दिन चाहन्छु,’उनले भने।
अभिनेत्री वर्षा सिवाकोटीले चलचित्र सुन्दर बनेको बताइन्। वर्षाले चलचित्रबाट आफूले निकै आशा बोकेको बताउदै अभिनेता तारिफमा समय खर्चिइन् ्।
उनले भनिन्,‘यो चलचित्रको टिम नयाँ भए पनि सशक्त छ। म यसको हिस्सा बन्न पाउँदा खुसी छु। चलचित्रले हाम्रै आफ्नो कथा भन्छ र यसमा विश्वासै नलाग्ने सामाजिक घटना देख्न सकिनेछ।’

अभिनेता सरोज खनालले बिहानीले दिनको अवस्था दर्साउँछ भनेजस्तै यो गीतले चलचित्रको भविष्य देखाएको प्रतिक्रिया दिए। अभिनेत्री रेजिना उप्रेतीले राम्रो फिल्म खोज्दा खोज्दै ९ वर्ष लागेको बताईन। उनले यो फिल्मबाट आफुलाई फिल्ममेकरले खोज्नुहुनेमा विश्वास रहेको परिचय डटकमसँगको कुराकानीमा बताईन्। उनले भनिन्,‘धेरै समय पछि फिल्ममा फर्किएको छु। यो फिल्मपछि पनि मलाई फिल्ममेकरले खोज्नुहुन्छ होला भन्ने आशा राखेको छु। यदि यो फिल्मपछि मलाई खोज्नु भएन भने एक,दुई वर्षको अन्तरालमा हेरौँ।’

उनले नयाँ पुराना सबै कलाकारसँग अभिनय गर्ने मन रहेको समेत बताईन्। कार्यक्रममा चलचित्रका निर्देशक शङ्कर कोइरालाले पनि चलचित्र राम्रो बनेको प्रतिक्रिया दिए।

Leave A Reply

Your email address will not be published.