सुचना, समाचार र मनोरन्जन

मनसुनी विपद : ज्यान गुमाउनेका परिवारलाई २ लाख रुपैयाँका दरले राहत निकासा

काठमाडौ/

सरकारले मनसुनी विपदमा परी ज्यान गुमाएका ६९ जनाका परिवारलाई दुई लाख रुपैयाँका दरले रकम निकासा गरेको छ । राहत वितरणका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा निकासा गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

Pach Pandav

अहिलेसम्म ६९ जनाका परिवारका लागि एक करोड ३८ लाख निकासा भएको र कतिपय जिल्लाले प्रक्रिया पुर्‍याएर पीडित परिवारलाई राहत वितरण पनि गरिसकेका प्राधिकरणले जनाएको छ । मनसुनको अवधिमा बाढी, पहिरो, चट्याङ लगायतका विपदमा परेर अहिलेसम्म एक सय २५ भन्दा धेरैको ज्यान गइसकेको छ । प्राधिकरणको प्रतिवेदन अनुसार मनसुनबाट प्रभावित परिवारलाई तत्काल राहतस्वरुप १५ हजारदेखि २० हजारसम्म वितरण भइसकेकोे छ ।

प्राधिकरणका प्रवक्ता डिजन भट्टराईका अनुसार रेडक्रसबाट अहिलेसम्म सात सय ४५ थान तारजाली, दुई सय ९५ थान ब्ल्याङ्केट, दुई सय पाँच थान म्याट्रेस, एक सय २५ थान भाँडाकुँडा, एक सय थान झुल, दुई सय २५ थान सरसफाइ किट, एक हजार एक सय ३८ मिटर कपडा उपलब्ध गराइएको छ ।

यस्तै गृह मन्त्रालय मातहत निकायबाट पाँच सय २० थान त्रिपाल, ५० थान टेन्ट, तीन सय थान ब्ल्याङ्केट, एक सय थान म्याट्रेस र ५० थान स्लिपिङ ब्याग उपलब्ध गराइएको छ । यसपाली बढी वर्षा हुने आँकलन रहेको थियो । मनसुनको शुरुवात महिनामै भारी वर्षाले जनधनको क्षति गराएको छ ।

Leave A Reply

Your email address will not be published.