सुचना, समाचार र मनोरन्जन

आबुँखैरेनीमा निजी अस्पताल सरकारीमा गाभिँदै

पोखरा /

तनहुँको आबुँखैरेनीमा निजी क्षेत्रबाट सञ्चालित छिम्केश्वरी अस्पताल अब आबुँखैरेनी अस्पतालमा गाभिने भएको छ । साउन ६ गते अस्पताल गाभ्ने विषयमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान र छिम्केश्वरी अस्पतालकातर्फबाट अध्यक्ष कृष्णमान तामाङले हस्ताक्षर गरेका हुन् ।

आँबुखैरेनीवासीलाई विशेषज्ञ स्वास्थ्य सेवा सहितको उत्कृष्ट स्वास्थ्य सेवा उपलब्ध गराउने मात्र नभई सिंगो गण्डकीको पूर्वी क्षेत्रको उपक्षेत्रीय स्वास्थ्य केन्द्र बनाउने उद्देश्यले गाउँपालिकाबाट सञ्चालित आँबुखैरेनी अस्पताललाई निकट भविष्यमा नै ५० शड्ढयाको अस्पताल बनाउने लक्ष्य लिएको छ । आँबुखैरेनी गाउँपालिका ३ मा सञ्चालित छिम्केश्वरी अस्पताललाई आँबुखैरेनी अस्पतालमा समायोजन हुने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।

छिम्केश्वरी अस्पतालको स्वामित्वमा रहेको सम्पूर्ण स्वास्थ्य उपकरण सामग्री तथा अस्पताल सञ्चालनसँग सम्बन्धित औषधी एवं औषधीजन्य वस्तुहरू आँबुखैरेनी अस्पताललाई हस्तान्तरण उल्लेख छ । अस्पतालको सम्पति मूल्यांकन गरेर आँबुखैरेनी अस्पताल तथा गाउँपालिका परिसरमा शिलालेख स्थापना गर्ने तथा छिम्केश्वरी अस्पतालका सेयर सदस्यको परिवारलाई आजीवन निःशुल्क उपचार गराउन सहमति भएको हो ।

छिम्केश्वरी अस्पताल रहेको पूर्वाधारमा गाउँपालिका र नीजि क्षेत्रको संयुक्त लगानीमा स्वास्थ्य एकेडेमी सञ्चालन गरी आँबुखैरेनीलाई स्वास्थ्यको केन्द्र बनाउने उद्देश्य लिइएको छ । सेयर सदस्यहरूलाई सो एकेडेमीको सेयर सदस्य बनाउने, एक विशेष समारोहको आयोजना गरी सम्पूर्ण छिम्केश्वरी अस्पतालको सेयर सदस्यहरूलाई सम्मानसहित अस्पताल बनाउने सम्झौतामा उल्लेख छ । आँबुखैरेनी अस्पताल सञ्चालक समितिमा छिम्केश्वरी अस्पतालमा हाल रहेका सेयर सदस्यहरू मध्येबाट प्रतिनिधित्व गराउने पनि सहमति पत्रमा उल्लेख छ ।

यसअघि गण्डकी प्रदेश सरकारले १२ वटा जति सामुदायिक अस्पताललाई प्रदेश सरकार मातहत ल्याएको थियो । संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सबैभन्दा पहिला पोखरा ३० लेखनाथ मोहोरियाको लायन्स सामुदायिक अस्पताल सरकार मातहत ल्याएर संक्रामक रोग उपचार अस्पताल बनाएका थिए । त्यसपछि स्याङ्जाको कालिका सामुदायिक अस्पताल सरकार अन्तर्गत ल्याइएको थियो । लमजुङमा जिल्ला अस्पताल सरहका अस्पताल गैरसरकारी संस्थाबाट सञ्चालित थियो । त्यसलाई पनि गुरुङ सरकारले प्रदेश सरकार मातहत ल्याएको थियो । अहिले उक्त अस्पताल लमजुङ जिल्ला अस्पतालका रुपमा सञ्चालित छ । नवलपुरको मध्यबिन्दु लगायत अस्पतालहरू पनि प्रदेश मातहत चलिरहेका छन् ।

Leave A Reply

Your email address will not be published.