सुचना, समाचार र मनोरन्जन

म्याग्दीमा विदेशी पर्यटकको आवागमन बढ्न थाल्यो

म्याग्दी/

हिमाली जिल्ला म्याग्दीमा भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या बढ्न थालेको छ । गएको आर्थिक वर्ष २०८०/०८१ मा ३१ हजार ३ सय ५४ जना विदेशी पर्यटकहरुले भ्रमण गरेका छन् । आर्थिक वर्ष २०७९/०८० मा भने २९ हजार ३ सय २८ जना पर्यटकहरुले म्याग्दीको भ्रमण गरेका थिए ।

यसअघि विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ पछि गएको वर्ष सबैभन्दा धेरै विदेशी पर्यटकले म्याग्दीमा भ्रमण गरेका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । गएको वर्ष सबैभन्दा धेरै चैत महिनामा ५ हजार ८ सय ४९ जना र सबैभन्दा कम असार महिनामा ३ सय ८८ जना विदेशी पर्यटक म्याग्दीमा पुगेका थिए ।

म्याग्दीको भ्रमण गर्न आउने पर्यटकहरु धेरैजसो सडकमार्ग भएर आउने गर्दछन् । पर्वतको मालढुङ्गा हुँदै बेनी, पश्चिम म्याग्दीको दरबाङ, उत्तरी भूरुङ–तातोपानी नाका र मुस्ताङ भएर म्याग्दीको भ्रमणमा पर्यटकहरु आउँछन् । यसैगरी कतिपय पर्यटकहरु ट्रेकिङ एजेन्सीमार्फत सिधै हवाई–मार्ग भएर पनि जिल्लाको भ्रमणमा आउने गरेका छन् । हिमालपारीको जिल्ला मनाङ हुँदै मुस्ताङबाट समेत पर्यटकहरु जिल्ला भित्रिने गर्दछन् ।

म्याग्दीमा घोरेपानी, पुनहिल, फुलबारी, महरेडाँडा, खोप्रालेक, रुप्से तथा नारच्याङ झरना, अन्धगल्छी, राउण्ड धौलागिरि र अन्नपूर्ण पदमार्गमा ट्रेकिङ गर्न, धौलागिरि बेसक्याम्प तथा धौलागिरि र अन्नपूर्ण हिमालको आरोहण गर्नका पर्यटक आउने गरेका छन् ।

Leave A Reply

Your email address will not be published.