सुचना, समाचार र मनोरन्जन

अनुशासित र असल विद्यार्थीलाई नै सफलता मिल्छ : विजुक्छे

पोखरा /

जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले अनुशासित र असल विद्यार्थीलाई नै सफलता मिल्ने भएकाले लगनशील भई अध्ययन गर्न सुझाए ।

राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण भई कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण कार्यक्रममा विजुक्छेले नेपालकै सर्वोकृष्ट सामुदायिक क्याम्पस रोजेका विद्यार्थीलाई जीवनमा के बन्ने भन्ने कुरा आजैबाट सुरुवात गर्न आग्रह गरे । उनले उच्चशिक्षा अध्ययनका लागि अन्यत्र जानै नपर्ने गरी क्याम्पसले हरेक चिजको व्यवस्थापन गरेको दावी गरे ।

निमित्त क्याम्पस प्रमुख रमेशबहादुर खड्काले अभिभावकको सपना साकार पार्न एवम् आफ्नो करिअर बनाउन विद्यार्थीले दुई वर्ष चर्को र खरो परिश्रम गरे गुणस्तरीय जीवन यापन गर्न सहयोग पुग्ने बताए ।

पूर्व क्याम्पस प्रमुख भरतराज गौतमले मेचीदेखि महाकाली जहाँ गए पनि जनप्रियमा पढेका विद्यार्थी उच्च ओहोदामा पुगेकाले सुनौलो भविष्यका लागि लगनशील भएर अध्ययन गर्न विद्यार्थीलाई प्रेरित गरे ।

अभिमुखीकरण कार्यक्रममा उपप्राध्यापक वेदहरि तिमिल्सिनाले प्रस्तुतीकरण राख्दै क्याम्पसको कक्षाकोठा, पुस्तकालय, प्रगोगशाला, चमेनागृह, खेलमैदान, खानेपानी, शैक्षिक क्यालेन्डर, छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप, भौतिक पूर्वाधार लगायत क्याम्पसको नीति नियम तथा विद्यार्थीको कर्तव्य, जिम्मेवारी र पालना गर्नुपर्ने आचारसंहिताका बारेमा नवआगन्तुक विद्यार्थीलाई जानकारी गराएका थिए ।

शिक्षाशास्त्र विभागका प्रमुख गोविन्द गैरेले देशको कुनै पनि जागिरमा प्रवेश गर्नका लागि योग्यता बनाउने ठाउँमा आएका व्यवस्थापन, शिक्षाशास्त्र र मानविकी सङ्कायका विद्यार्थीलाई शुभकामना दिएका थिए । कक्षा १२ व्यवस्थापनकी पुजना लामिछाने र सागर घिमिरेले जेएमसीका आफ्ना अनुभव सुनाएका थिए । विज्ञान सङ्कायका विद्यार्थीको यसअघि नै स्वागत र अभिमुखीकरण कार्यक्रम सम्पन्न भइसकेको थियो ।

प्लस टु कार्यक्रम संयोजक गणेश चालिसेको सभापतित्वमा सम्पन्न कार्यक्रममा अर्थशास्त्र विभागकी प्रमुख शिलु चालिसले स्वागत मन्तव्य राखेकी थिइन भने सामाजिक विभागका प्रमुख वेदहरि तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।

Leave A Reply

Your email address will not be published.