सुचना, समाचार र मनोरन्जन
Sarangi

वर्षाको ‘मोदीबेनी’ हेर्दा दर्शकलाई ‘फुड एन्ड इन्टरटेन्मेन्ट अफर’

काठमाडौं :

शुक्रबारबाट हलमा लाग्ने फिल्म ‘मोदीबेनी’ले ‘मोदीबेनी फुड एन्ड इन्टरटेनमेन्ट अफर’ ल्याएको छ। यो अफर अन्तर्गत नेपालभर यो फिल्म हेर्ने दर्शकले प्राप्त गर्नेछन्। उनीहरुले फिल्म हेरेको एक महिनासम्ममा विभिन्न रेस्टुरेन्टहरू तथा काठमाडौंका लोकल फार्म र स्काइवाकमा आकर्षक छुट सुविधा प्राप्त गर्ने योजना ल्याएको हो।

निर्माण टिमका अनुसार आन्तरिक पर्यटकको लागि प्रमुख आकर्षणमा रहेको काठमाडौंको कमलादीमा रहेको स्काइवाक टावरमा लाग्ने टिकट मूल्यमा रु. दुई सय छुट, स्काइवाककै कम्पाउन्डमा रहेको मेक्सिकन खाना ‘बरिटो’को लागि प्रसिद्ध बरिटो रेस्टुरेन्टमा रु. दुई सय छुट, काठमाडौंको बत्तिस पुतलीमा रहेको अतिथि रेस्ट्रोमा २० प्रतिशत छुट, सिटी सेन्टरको चौथो तल्लामा रहेको फुड कोर्टमा १५ प्रतिशत छुट तथा धुम्बाराहीमा रहेको लोकल फार्ममा रहेका सबै सामानमा १५ प्रतिशत छुट प्रदान हुनेछ।

त्यसै गरी, काठमाडौं बाहिर दाङको नारायणपुरस्थित भिएफएक्स सिनेमा हलमा रहेको रेस्टुरेन्टमा २० प्रतिशत, इटहरीको तरहरास्थित रिजन होटेल एन्ड म्युजिक क्याफेमा २० प्रतिशत छुट तथा नेपालगन्जका दुई रेस्टुरेन्टहरू रेड हाउस रेष्ट्रो, गुरुद्वारा रोड र कुटुम्ब क्याफे, धम्बोजीमा २० प्रतिशत छुट प्रदान हुनेछ।

यो अफरको लागि ‘मोदीबेनी’ फिल्म हेरेका दर्शकले अनलाइन वा हलबाट काटिएको टिकट देखाउनुपर्ने हुन्छ। अनलाइनबाट काटिएको टिकट भने प्रिन्ट गर्नुपर्नेछ। एउटै टिकटबाट माथि उल्लेखित सबै स्थानहरूमा एक पटकको लागि छुट प्रदान हुनेछ। यो अफरमा मद्यपान र धूम्रपानको भने छुट प्राप्त हुनेछैन।

डिनेष्ट इन्टरटेनमेन्टको ब्यानरमा दिलीप केसी र हरि श्रेष्ठले निर्माण गरेको यस फिल्ममा शङ्कर कोइरालाको निर्देशन रहेको छ। यसमा वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, प्रवीण खतिवडा, रेजीना उप्रेती, सरोज खनाल, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, स्नेहा भट्टराई लगायतको अभिनय रहेको छ। यसमा आनन्द विक्रम क्षेत्रीको लेखन, उत्सव दाहालको डिओपी, भरत रेग्मीको सम्पादन रहेको छ भने दीपेन्द्र गौतमको प्रोडक्सन डिजाइन, रोयल भीमसेनको पोस्टर डिजाइन तथा ट्राइडेन्ट कन्सेप्टको पब्लिसिटी डिजाइन रहेको छ। रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन्।

Leave A Reply

Your email address will not be published.