काठमाडौं :
यहि साउन ३२ गतेबाट दर्शकमाझ आउन लागेको फिल्म ‘बुलाकी’को विभिन्न देशको प्रदर्शन अधिकार बिक्री भएको छ। बिहिबार यु.के., समग्र यूरोप र अष्ट्रेलियाको प्रदर्शन अधिकार एकसाथ बिक्री भएको हो।
फिल्मका निर्माता तथा अभिनेता विराज विष्टले फिल्मलाई विदेशका लागि प्रदर्शन अधिकार धमाधम बिक्री भएको जानकारी दिए। यो फिल्मलाई नेपालसँगै एकसाथ विश्व बजारमा प्रदर्शन गर्नेगरि फिल्म वितरण तथा मनोरञ्जनात्मक गतिविधिमा क्रियाशिल कम्पनि वि.एस. इन्टरटेन्मेन्टले खरिद गरेको हो। ’बुलाकी’ निर्माण कम्पनि छत्रेश्वरी म्यानेजमेन्ट प्राली र विएस इन्टरटेन्मेन्टबीच हालै सम्झौता भएको विष्टले बताए।
विष्टले सामाजिक सञ्जालमा पोष्ट सेयर गर्दै नेपालको वास्तविक र मौलिक कथालाई विश्वभर छरिएर रहेका नेपाली फिल्मका दर्शकमाझ साझा गर्न पाउनुलाई महत्वपूर्ण उपलब्धि भनेका छन्। अन्य देशहरूमा पनि फिल्म प्रदर्शनको कुरा अघि बढेको र त्यसको जानकारी मिडिया तथा सोसियल मिडियाबाट सार्वजनिक गर्ने उनले बताए ।
लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्ममा सुरक्षा पन्त, विराज विष्ट, नरेन खड्का, सरस्वती खत्री, लक्ष्मी गिरी, रमेश बुढाथोकी, सुशिल पोखरेल लगायत प्रमुख अभिनयमा छन् । फिल्मले यसअघि सम्पन्न फिल्म महोत्सव तथा अवार्डहरूमा हरेक विधामा उत्कृष्ट कहलिँदै अब्बलता प्रस्तुत गरिसकेको छ ।