काठमाडौं :
आगामी भदौ २१ गते तीजको अवसर पारेर २ वटा फिल्म प्रदर्शनमा आउने भएका छन्। पूजा शर्माले निर्माण गरेको फिल्म ‘रावायण’को प्रदर्शनकै शिल्पा मास्केको ‘देवी’प्रदर्शनमा आउने भएको हो।
निर्माण पक्षले आइतबार फिल्म ‘देवी’को टिजर समेत सार्वजनिक गरेको छ। १ मिनेट ३० सेकेण्ड लामो टिजरले समाजमा घट्ने बलात्कार जस्ता अपराजन्य घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा पेश गरेको छ। टिजरमा समावेश एक संवादले केही वर्ष अघि सुदुरपश्चिममा घटेको नाबालिक १३ बर्षिय निर्मला पन्तको बलात्कारपछि हत्यामा आधारित रहेको बुझ्न सकिन्छ । टिजरमा फिल्मका प्राय सबै मुख्य कलाकारलाई स्थान दिइएको छ।
क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मका निर्देशक सञ्जोग राई रहेका छन्। यस फिल्मको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका हुन्। ‘देवी’ एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको यो फिल्मले प्रदर्शनका लागि यो सिनेमा निर्माण टिमले बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ।
नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउने यो फिल्ममा शिल्पाका अलवा गौरव पहारी, नाजिर हुसेन, टीका पहारी,प्रभाकर न्यौपाने,ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय रहेको छ। सन्जेन थापाको फिल्ममा एक्सन रहेको छ।
रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको यस फिल्मको कार्यकारी निर्माता जावेद खान तथा सह–निर्माता उजेन नोर्वे गुरुङ र मिलन लामा छन्। जोएल फ्रोमले छायांकन गरेको फिल्मलाई मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन्।