सुचना, समाचार र मनोरन्जन
Sarangi

पोखरा २६ को सरसफाई अभियानमा जोडिए तीन हजार नागरिक

पोखरा/
पोखरा महानगरपालिका वडा नं. २६ ले आयोजना गरेको सरसफाई अभियानमा झण्डै तीन हजार वडाबासी जोडिएका छन् ।

शुक्रबार देखी चारदिनसम्म संचालन भएको अभियानको सोमबार समापन गर्दै, वडा अध्यक्ष्य नरेन्द्र थापाले टोलहरुमा सरसफाईका बारेमा चेतना विस्तार भएको उल्लेख गरे ।

अध्यक्ष थापाले अभियानले आÇनो टोलको आफैले सफा गर्नु पर्ने सन्देश नागरिकलाई दिएको बताउँदै, सरसफाईको कार्यलाई तालिका बनाएर लागु गर्न आग्रह गरे ।

वडाका सवै टोलमा पुग्दा घरमा पालेका कुकुर धनीले अरुको गेट, सार्वजनिक स्थल र बाटोमा शौच गराउने गरेको गुनासो नागरिकले धेरै राखेको उल्लेख गर्दै अध्यक्ष थापाले त्यस्ता कुकुरधनीको तस्बिर खिचेर वडाको सामाजिक संजाल, इमेल वा म्यासेन्जरमा पठाईदिन आग्रह गर्दै त्यस्ता कुकुरधनीलाई कारवाही गरिने बताए ।

कुकुर डोर्याएर अर्काको गेट र सार्वजनिक स्थलमा शौच गराउने असभ्य क्रियाकलाप भएको उल्लेख गर्दै, अध्यक्ष थापाले त्यस्ता कुकुरधनीलाई टोल विकास संस्थाले समेत खवरदारी गर्नु पर्नेमा जोड दिए ।

वडा अध्यक्ष थापाले आफुहरु निर्वाचित भएर आएसँगै वडामा झण्डै तीस करोडको विकास निर्माण भएको उल्लेख गर्दै, चालु आ.ब मा संघ प्रदेश र महानगर एवं वडाबाट गरेर २० करोड बजेट विनियोजन भएको स्पष्ट पारे । सिमित श्रोत र साधनले एकै पटकमा जनचाहना अनुरुपको विकास नहुने उल्लेख गर्दै, अध्यक्ष थापाले अबको बजेट पहाडी भाग लक्षित हुनेमा जोड दिए ।

१८ गते देखी संचालन भएको अभियान सक्नेरी, हिमाली टोल, रिठ्ठेपानी, संगम नगर, बिजयपुर, संपदा टोल, कालिका चोक, भवानी चोक, साँघुको मुख, सिलिङ्गे, चापाचौर, जल्धारे, नरेशपुर, पैते, राखी, खराने, सुन्दरीबजार, अर्घौचोक, सिर्जनशिल टोल, घैटेको खोर लगायतका स्थानमा स्थानीय समुदाय, आमा समूह, महिला समूह, टोल विकास संस्था, युवा क्लव, विभिन्न समाजका सदस्य एवं नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको समेत सहभागिता रहेको थियो।
विभिन्न विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, वडाका जनप्रतिनिधि, कर्मचारी लगायतले अभियानमा सहभागिता जनाएका थिए ।

वडाले विभिन्न टोलमा अभियानका क्रममा तीनसय थान डष्टबिन बितरण गर्नुका साथै ति स्थानका नागरिकको गुनासो समेत सुनुवाई गरेको थियो ।
गुनासो सुनुवाईलाई सम्वोधन गर्दै अध्यक्ष थापाले टोलको सरसफाई जस्तै राजनिति पनि सफा गर्नु पर्नेमा जोड दिएका थिए । बाढीपहिरोबाट क्षति भएका स्थानमा चाडैनै मर्मत संभार गरिने अध्यक्ष थापाले जानकारी दिए । पहिरो पन्छाउने र बाढीले विगारेका सडक मर्मत संभारका काम एकहप्ता भित्र गरिने प्रतिवद्धता समेत अध्यक्ष थापाले व्यक्त गरे ।

कार्यक्रममा वडा सदस्यहरु लक्ष्मीदेवी भट्टराई, सुजता बराल सुनार, तिर्थ बहादुर राजभाट र सुदिपराज ढुंगाना, वडा सचिव लिलामणि भण्डारी, सुचना अधिकारी नवराज सापकोटा, प्रदेश खेलकुद बिकास समितिका सल्लाहकार ओमराज बस्नेत, संचारकर्मी सौगात पोखरेल लगायतले अभियानका बिषयमा बोलेका थिए ।

Leave A Reply

Your email address will not be published.