सुचना, समाचार र मनोरन्जन

४ वटा साना उद्योगले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको महसुल तिरे, ठूला उद्योगी दबाबमा

काठमाडौँ/

केही ठूला उद्योगले डेडिकेटेड फिडर र ट्रङ्कलाइन सेवाको प्रिमियम महसुल तिर्न आनाकानी गरिरहेका बेला चार वटा साना उद्योगले भने विद्युत् महसुल तिरेका छन् ।

डेडिकेटेड तथा ट्रङ्कलाइन प्रयोग गरेका भैरहवा क्षेत्रका चार वटा उद्योगले २५ प्रतिशत जरिबानासहित प्रिमियम बक्यौता रकम बुझाएका हुन् । यशोदा फुड्स प्रालीले चार लाख २५ हजार दुई सय ३१ रुपैयाँ, जय दुर्गा प्लास्टिक उद्योगले ७० हजार पाँच सय ३२ रुपैयाँ, सोना प्याकेजिङले तीन लाख ५५ हजार ६७ रुपैयाँ र सोना पोलिमर्स इन्डस्ट्रिजले तीन लाख ४६ हजार तीन सय ८९ रुपैयाँ महसुल बुझाएका हुन् ।

प्राधिकरणले पटक पटक ताकेता गर्दा पनि उद्योगीले बक्यौता तिरेका छैनन् । साना उद्योगले बक्यौता तिर्दा ठूला उद्योगीलाई दबाब पुगेको प्राधिकरणले जनाएको छ । २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा प्रयोग गरेको ट्रङ्क र डेडिकेटेड लाइनबापतको महसुल बुझाएको उद्योगीहरूले बताएका छन् ।

विभिन्न उद्योगको जरिबानासहित आठ अर्ब २६ करोड रुपैयाँ बक्यौता देखिएको थियो । बक्यौता नतिर्ने उद्योगको लाइन प्राधिकरणले काटेको थियो । प्राधिकरणले काटेको लाइन जोड्न प्रधानमन्त्री केपी शर्मा ओलीले ठाडो निर्देशन दिनुभएको थियो । प्रधानमन्त्रीको निर्देशनमा असहमति जनाउने विद्युत् प्राधिकरणका दुई जना सञ्चालकलाई सरकारले बर्खास्त पनि गरिसकेको छ ।

Leave A Reply

Your email address will not be published.