काठमाडौं :
टेलिभिजन रियालिटी शो ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले जितेकी छन्। शनिबार भएको ग्राण्ड फिनालेमा तामाङले उपाधि जितेकी हुन्। उनी टीम प्रमोद खरेलकी प्रतिस्पर्धीमा रहेकी थिइन्।
उपाधि विजेता तामाङलाई कार्यक्रममा हिमालय टिभीका अध्यक्ष धर्मराज भुसाल, कार्यकारी निर्देशक श्याम कँडेल लगायतले पुरस्कार प्रदान गरे। उनले उपाधि जितसँगै १० लाख रुपैयाँ र प्रायोजकको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन्। अन्य फाइनलिस्टलाई पनि गिफ्ट ह्याम्पर प्रदान गरिएको छ।
रियालिटी शोको फाइनलिस्टमा कोच प्रमोद खरेलको टिमबाट अनुया र लाक्पा शेर्पा, कोच मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा पुगेका थिए। कोच छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ, कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामाले फिनालेमा प्रतिस्पर्धा गर्दा प्रमोलको टिम विजयी भएको हो। दर्शकले दिएको भोटको आधारमा बढी भोट प्राप्त गर्ने प्रतिस्पर्धीलाई विजेता चुनिएको हो ।