काठमाडौँ/
रास्वपाका निलम्बित महामन्त्री डा मुकुल ढकाललाई पार्टीले साधारण सदस्यबाट समेत निलम्बन गर्ने भएको छ । यसको औपचारिक निर्णय मंगलबार बस्ने केन्द्रीय समिति बैठकले एक नेताले जानकारी दिए ।
पार्टी अनुशासन र आचरण विपरीत गतिविधि गरेको भन्दै रास्वपाले यसअघि ढकालको महामन्त्री र प्रवक्ता पद खोसेको थियो । उनलाई ३५ दिनको समय दिएर प्रस्टीकरणको मौका पनि दिइएको थियो । तर त्यसबिचमा ढकालले निरन्तर पार्टी सभापति रवि लामिछाने‚ उपभापतिद्वय स्वर्णिम वाग्ले र डीपी अर्याल लगायत पदाधिकारी तथा केन्द्रीय नेताहरू विरुद्ध बोलेका थिए । त्यी सबै विषयले पार्टीलाई हानी गरेको निष्कर्ष पार्टी अनुशासन आयोगले निकालेपछि उनलाई साधारण सदस्य पनि राख्न नहुने आवाज उठेको थियो ।
त्यसपश्चात् रास्वपाले उनलाई साधारण सदस्यबाट किन नहटाउने भन्दै स्पष्टीकरण सोधेको थियो । अन्तिम पटक ढकाललाई रास्वपाको भदौ ५ गतेको बैठकले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । जवाफमा ढकालले सभापति रवि लामिछानेलाई ‘अपराधी करार गरिछाड्ने’ भनेपछि पार्टीले उनलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णयमा पुगेको छ ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले कारबाहीबारे स्पष्ट जवाफ नदिएपनि मंगलबारको बैठकले आवश्यक निर्णय गर्ने बताए ।
‘बैठक अगावै निर्णय यहीँ भन्न मिल्दैन । तर‚ अनुशासन आयोगले हामीलाई आफ्नो विषय दिइसकेको छ । हामीले विधान अनुसार सबै प्रक्रिया र अवसर उहाँलाई दिएका छौँ‚’ झाले भने‚ ‘के गर्छौँ भन्ने निर्णय भोलिको केन्द्रीय समिति बैठकले गर्छ ।’
मंगलबार बिहान ८ बजे बस्ने केन्द्रीय समिति बैठकका लागि समसामयिक पार्टी गतिविधि‚ राष्ट्रिय भेलाको तयारी‚ अनुशासनात्मक कारबाही‚ स्थानीय छाया सरकार कार्यविधि र विविध विषय गरी पाँच एजेन्डा राखिएको छ ।