सुचना, समाचार र मनोरन्जन

राजस्व चुहावट नियन्त्रण गरी करमैत्री सेवा विस्तार गरिने

काठमाडौँ/

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिले राजस्व चुहावट नियन्त्रण र करमैत्री सेवा विस्तार गरी चालू आर्थिक वर्षमा राजस्व सङ्कलनको लक्ष्य पूरा गर्ने निर्णय गरेको छ ।

उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गृहमन्त्री रमेश लेखकसहित राजस्व सङ्कलनमा भूमिका रहेका निकायका प्रमुखहरूको आजको बैठकले राजस्व सङ्कलनको लक्ष्यलाई पूरा गर्न राजस्व प्रशासनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीको कार्यसम्पादन मूल्याङ्कनको महत्त्वपूर्ण आधार बनाउने निर्णय गरेको हो । बैठकले राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ती टोली गठन गरी पूर्वदेखि पश्चिमसम्म परिचालन गर्ने निर्णय गरेको छ ।

राजस्व चुहावट नियन्त्रणसम्बन्धी व्यवस्थित कार्ययोजनालाई कार्यान्वयन गर्ने, कानूनसम्मत कारोबार गरेका करदातालाई कुनै किसिमको असहज नहुनेतर्फ सजग रहने, गैरकानूनी आर्थिक गतिविधि गर्ने कसैलाई छुट नदिने निर्णय गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो ।

बैठकमा अर्थमन्त्री पौडेलले एउटै व्यक्ति एउटै जिम्मेवारी र ठाउँमा लामो समय रहँदा हुनसक्ने अनपेक्षित सम्बन्धलाई हटाउन राजस्व प्रशासनसँग जोडिएका कर्मचारी र प्रहरीको ुपोस्टिङु गर्न निर्देशन दिनुभयो । उहाँले सीमा नाकाहरूमा स्क्यानरसहितका आधुनिक प्रविधिको प्रयोगमार्फत निगरानीलाई प्रभावकारी बनाउन, आयातित वस्तुको वर्गीकरण तथा मूल्याङ्कनलाई यथार्थपरक बनाउन, बजारमा बिलबिजक लिनेरदिने कार्यलाई प्रोत्साहन गर्नुका साथै नक्कली बिजक वा फर्म खडा गरी हुनसक्ने राजस्व चुहावटप्रति गम्भीरतापूर्वक अनुसन्धान गर्न निर्देशन दिनुभयो ।

यस्तै गृहमन्त्री रमेश लेखकले राजस्व चुहावट नियन्त्रण गरी राजस्वको लक्ष्य पूरा गर्न गृह मन्त्रालयले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कर तिर्नका लागि प्रोत्साहन गर्न आग्रह गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.